सुनिल भ्रष्टाचारी ठहरेपछि विकलमाथि अर्को भ्रष्टाचार मुद्दा


काठमाडौं । विशेष अदालतले ‘नेसनल पेमेन्ट गेटवे’मा सुनिल पौडेललाई भ्रष्टाचारी ठहर गरेको तेस्रो दिन विकल पौडेलमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आफ्नो ओहदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा मुद्दा हालेको हो । अख्तियारले सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको हो ।

सुरक्षण मुद्रण केन्द्रको खरिदमा भ्रष्टाचार मुद्दा लागेका विकलविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीमाथि अख्तियारले अकुत सम्पत्ति आर्जनको विषयमा पनि अनुसन्धान गरिरहेको छ ।

अमेरिकाको कानुनी स्थायी आवासीय अनुमतिपत्र लिएका विकललाई उक्त कुरा ढाँटेर सार्वजनिक पदमा नियुक्ति खाएको पाइएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनले अमेरिकाको पीआर लिएपछि सुरक्षण मुद्रण केन्द्रको दोहोऱ्याएर कार्यकारी निर्देशकमा नियुक्ति लिएका थिए । यो गैह्र कानुनी कार्य हो ।

श्रीमती डा. एलिना बस्नेतको नाममा अमेरिकामा घर किनेका विकल अहिले अख्तियारको हिरासतमा छन् । सिंगापुरस्थित ओम्नी ग्रुपको ब्याङ्कोटेक कम्पनीका काम गरिरहेका विकलले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी र सुनिलले राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक हुँदै नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न सफल भएका थिए । विदेशी कम्पनीमा काम गर्ने सुनिल र विकललाई सरकारी नियुक्ति दिएको स्वास्थ्य लाइभले खुलासा गरिसकेको छ ।

सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

 

यस्तो छ अख्तियारले प्रेस विज्ञप्ति

——————————————

सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक पदमा कार्यरत विकल पौडेलले नेपालको संविधानको धारा २९१ को व्यवस्था विपरित विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको र स्वयं घोषणा गरी विवरण पेश नगरी झुक्याई सरकारी/सार्वजनिक पदमा वहला रहेको, पदावधि थप गर्दा अयोग्य ब्यक्तिलाई सिफारिश गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नेपालको संविधानको धारा २९१ को उपधारा (१) मा भएको व्यवस्था, निजामती सेवा ऐन, २०४९ को दफा ६१(२)(ग) मा भएको व्यवस्था र संचार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध सार्बजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ११ को देहाय (घ) को व्यवस्था विपरित निज विकल पौडेलले सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशक पदमा राष्ट्रसेवकको ओहदामा बहाल रही लाभ र सुविधा पाईरहने उद्देश्यले आफैले स्व:घोषणा गरी विदेशको अस्थायी आवासीय अनुमतिपत्र नलिएको भनी विवरण पेश गरी राष्ट्रसेवकको हैसियतले वहाल रहेको अवस्थामा नै संयुक्त राज्य अमेरिकाको कानूनी स्थायी आवासीय अनुमती लिएर पनि उक्त विवरण लुकाई/छिपाई मिति २०७९।०२।१३ गते पदावधि थप गर्दासमेत उक्त विवरण लुकाई झुट्टा विवरण दिई राष्ट्रसेवक पदमा वहाल रही राष्ट्रसेवकको हैसियतमा लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएकोवाट निज प्रतिवादी विकल पौडेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य भएको हुँदा निज विकल पौडेललाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय हुन र निज सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त भएको पदाधिकारी रहेकोले भ्रष्टाचार निवारण ऐन,२०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गत माथि उल्लेखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निज विकल पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता

नरहरि घिमिरे

 

क्याटेगोरी : समाचार
ट्याग : #अमेरिकी पीआर, #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #नेपाल टेलिकमका एमडी सुनिल पौडेल, #नेसनल पेमेन्ट गेटवे, #विकलकी श्रीमती डा. एलिना बस्नेत, #सिङ्गापुरियन कम्पनी ब्याङ्कोटेक प्रालि

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com