घुस लिएर ‘फास्ट ट्रयाक’मा स्मार्ट लाइसेन्स प्रिन्ट गरिदिने भट्टको टोलीसँग धरौटी मागियो


काठमाडौं । घुस लिएर ‘फास्ट ट्रयाक’मा स्मार्ट लाइसेन्स प्रिन्ट गरिदिने यातायात व्यवस्था विभागका पूर्वकम्प्युटर अधिकृत हरिश भट्टसहितका प्रतिवादीसँग काठमाडौं जिल्ला अदालतले धरौटी मागेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले हालेको लिखत सम्बन्धी कसुरमा आज थुनछेक बहसपछि जिल्ला अदालतले भट्टलाई तीन लाख रुपैयाँ धरौटी मागेको छ ।

जिल्ला न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले उनीसँग तीन लाख धरौटी मागेको हो । यसअघिको अर्को मुद्दामा जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले उनीसँग दुई लाख धरौटी मागेको थियो । यो मुद्दाका कारण उनी सिआईबी कै हिरासतमा बस्न बाध्य भए । गाडीले हानेर मान्छे मार्नेलाई नक्कली लाइसेन्स दिने अख्तियारका कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्याललाई भने उक्त मुद्दामा पाँच लाख रुपैयाँ धरौटी मागिएको  थियो । उनी धरौट बुझाएर रिहा भइसकेका छन् ।

जिल्ला अदालत काठमाडौंले यातायात व्यवस्था विभाग, मीनभवनका पूर्व सहायक कम्प्युटर अपरेटर बसन्त पाण्डेसँग पनि तीन लाख धरौटी मागेको छ । घुस लिई नक्कली कागजात पेश गरेर तत्काल लाइसेन्स उपलब्ध गराउने धन्दामा संलग्न भएको आरोपमा उनी पक्राउ परेका थिए । सिआईबीले हालेको लिखत सम्बन्धी कसुर मुद्दामा पाण्डेसँग तीन लाख धरौटी जिल्ला अदालत काठमाडौंले तीन लाख रुपैयाँ धरौटी मागेको हो । त्यस्तै यातायात व्यवस्था विभागमै कार्यरत करार सेवाका सहायक कम्प्युटर अपरेटर बिर्जुकुमार चौधरीलाई पनि जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटी मागेको छ ।

जिल्ला प्रशासन कार्यालय, सल्यानका कम्प्युटर अपरेटर गणेश भण्डारीसँग एक लाख रुपैयाँ धरौटी मागेको छ । त्यस्तै बिचौलिया प्रदीप सुनार र मिलन बाँस्तोलासँग पनि एक/एक लाख रुपैयाँ धरौटी मागेको हो ।

यातायात व्यवस्था विभागका करार सेवामा कार्यरत सहायक कम्प्युटर अपरेटर दीपा न्यौपानेलाई भने साधारण तारेखमा छाडिदिएको छ । तीन लाख रुपैयाँ धरौटीमा पर्नेमा भट्ट, पाण्डे र चौधरी रहेका छन् । एक लाख रुपैयाँ धरौटीमा भण्डारी,  सुनार र बाँस्तोला परेका छन् । भने न्यौपाने बिनाधरौटी छुटेकी हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : #इन्जिनियर हरिश भट्ट, #बसन्त पाण्डे, #हरिश भट्ट कम्प्युटर इन्जिनियर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ