बालेनले लखेटेका बसन्तलाई रविले विपद्‌मा व्यवस्थापन गरे


काठमाडौं । गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय बुधबार २५ जना सहसचिव चलाएका छन् । उनले केही विवादित सहसचिवलाई राम्रै ठाउँमा व्यवस्थापन गरेको देखिन्छ ।

गृहमन्त्रीमा रवि लामिछाने आएपछि सुशासन कायम हुने आम ‘पब्लिक’को विश्वास थियो । तर, उनले सरुवा, पदस्थापन र व्यवस्थापन गरेका सहसचिवको सूची हेर्दा उक्त आशा निराशामा बदलिएको छ ।

गृहमन्त्री लामिछानेले काठमाडौं महानगरपालिकामा स्वास्थ्य प्रवर्द्धन केन्द्रमा करारका कर्मचारी भर्ना गर्दा किर्ते गरेर सरुवा कारबाहीमा परेका बसन्त अधिकारीलाई व्यवस्था गनेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनले लखेटेका बसन्तलाई रविले राष्ट्रिय विपद्‌ जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा व्यवस्थापन गरेका छन् । उनलाई बालेनले किर्तेमा अनुसन्धान गर्न गृह मन्त्रालय आग्रह गर्दै आएका छन् । तर, रविले बसन्तलाई गृहमा ल्याएर उल्टै व्यवस्थापन गरेका हुन् । यसले सुशासनको खिल्ली उडाएको देखिन्छ । कारबाही गर्नुपर्ने बसन्तलाई मधेशी आयोग हुँदै गृह मन्त्रालय ल्याएर सुनपानी छर्किने काम भएको टिप्पणी हुन थालेको छ । गलत गर्ने कर्मचारीलाई बालेनले कारबाहीको दायरामा ल्याएपनि रविले व्यवस्थापन गरेर सुशासनमा सम्झौता गरेको टिप्पणी हुन थालेको हो ।

राष्ट्रिय विपद्‌ जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा जगेडामा रहेका गोगनबहादुर हमाललाई समेत रविले महत्त्वपूर्ण जिम्मेवारी दिएका छन्  रविले उनलाई आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कार्यालयमा प्रहरीसँग झगडा गरेर हिँडेका गोगन गृह मन्त्रालयको महत्त्वपूर्ण महाशाखा सम्हाल्न पुग्नुले रविको सुशासनमाथि प्रश्न उठेको छ । यातायात  व्यवस्था विभागमा हुँदा इम्बोस्ड नम्बर प्लेटदेखि नक्कली लाइसेन्स प्रकरणसम्ममा जोडिएका गोगनलाई गृहको आन्तरिक व्यवस्थापनको जिम्मेवारी दिनुले रविको सुशासन छताछुल्ल भएको छ । यसले रविको छविलाई समेत असर पुग्ने खतरा देखिन्छ ।

त्यसो त गाडीले हानेर मान्छे मार्नेलाई नक्कली लाइसेन्स दिँदा यातायात व्यवस्था विभागको महानिर्देशक रहेका नारायणप्रसाद भट्टराई रविको नेतृत्वमा रहेको गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । त्यसमाथि अर्का सहसचिव गोगन पनि थपिएका हुन् ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुने भनेर चर्चामा रहेका भीष्मकुमार भुसाल गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख बनेका छन् । उक्त महाशाखा प्रमुख रहेकी स्कीम श्रेष्ठ जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)की प्रमुख जिल्ला अधिकारी बनेकी छिन् । जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)की प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय, प्रमुखको जिम्मेवारी सरुवा भएका छन् ।

गृहमन्त्रीस्तरीय निर्णयबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय, प्रमुखको जिम्मेवारी रहेका नरबहादुर थापा भोजपुरको प्रमुख जिल्ला अधिकारी बनेका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी, नारायणप्रसाद सापकोटा जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर पुगेका हुन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी सर्लाही पुगेका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको राष्ट्रिय विपद्‌ जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सरुवा भएको हो ।

सुनसरीको प्रमुख जिल्ला अधिकारीमा रामचन्द्र तिवारीको सरुवा भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य कारागार व्यवस्थापन विभागको महानिर्देशक बनेका छन् । त्यस्तै तिर्थराज भट्टराईले कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक बनेका हुन् ।

अरुण पोखरेलले जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्वको) प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन् । जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्वको) प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको भने जिल्ला प्रशासन कार्यालय, इलाममा सरुवा भएको छ । इलामका प्रमुख जिल्ला अधिकारी, ईन्द्रदेव यादवको जिल्ला प्रशासन कार्यालय, चितवनमा सरुवा भएको छ । यादव सदाबहार सिडिओ हुन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी बनेर गएका छन् । तिर्थराज चिलुवाल प्रजिअको भूमिकामा प्रमुख जिल्ला अधिकारी मकवानपुर पुगेका हुन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं काभ्रेपलाञ्चोक सरुवा भएका छन् । काभ्रेकी रुद्रादेवी शर्मा बर्दियाको प्रमुख जिल्ला अधिकारी भएर गएकी छिन् ।

राष्ट्रिय विपद्‌ जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका भरतमणि पाण्डे कास्कीको प्रमुख जिल्ला अधिकारी भएर गएका छन् । बालकृष्ण खाँण गृहमन्त्री हुँदा मकवानपुर र रुपन्देहीको सिडिओ बनेका पाण्डे रविको पालामा कास्कीको सिडिओ बनेका हुन् ।

कास्कीका सिडिओ बासुदेव घिमिरेको गृह मन्त्रालयमा सरुवा भएका छन् । घिमिरे पिएचडी गर्न विदेश जाने भएपछि उक्त ठाउँमा पाण्डेले ‘चान्स’ पाएका हुन् । राजेन्द्रदेव पाण्डे प्रमुख जिल्ला अधिकारी धादिङ र पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको सप्तरीमा सरुवा भएको छ ।  त्यस्तै सप्तरीका प्रमुख जिल्ला अधिकारी  किरण थापाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको प्रमुख अध्यागमन अधिकृतमा सरुवा भएको हो ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #गृहमन्त्री रवि लामिछाने, #गोगनबहादुर हमाल, #नारायणप्रसाद भट्टराई, #बसन्त अधिकारी, #भरतमणि पाण्डे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ