१७ दिन देखि एचआइभी केन्द्र खाली, यही पाराले ग्लोबल फन्डको पीआर लिन सकिएला त ? 


काठमाडौं । सरकारले ग्लोबल फन्डको पीआर लिनका लागि धमाधम काम गर्नु पर्ने बेला छ । करिब ६ अरबको अनुदानमा पीआर बन्ने निर्णय लिएको सरकारले सम्बन्धित केन्द्र लामो समय देखि नेतृत्व विहीन राखेको छ ।  

एचआइभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्र विगत १७ दिन देखि नेतृत्व विहीन छ । अहिले ग्लोबल फन्डको पीआर लिन रात दिन नभनी काम गर्नुपर्ने समय छ । तर, ११ जेष्ठ देखि केन्द्र खाली रहेको छ । ग्लोबल फन्डले क्षयरोग, एचआइभी र मलेरियामा सन् २००८ देखि काम गर्दै आएको छ । हाल सरकार र युएनडिपी पीआर बन्ने भनेर नेपालको सीसीएमले पठाएको प्रोपोजल ग्लोबल फन्डले स्वीकृत गरी प्राविधिक टिमसँग छलफल जारी राखेको जनाएको छ । नेपालमा दिने बजेटबारे २४ घण्टा ग्लोबल फन्ड खटेर काम गरेको छ । तर, बजेट माग गर्ने र सञ्चालन गर्ने निकाय नेपाल सरकारले भने सम्बन्धित केन्द्र नियुक्त गर्न सकेको छैन । 

ग्लोबल फन्डले सरकारको यही पारा देखेर सत प्रतिशत पीआर दिएको मलेरिया कार्यक्रम हालै फिर्ता लगेको छ । त्यस्तै क्षयरोग र एचआइभीमा पनि आधा काम सरकारलाई दिएको छ । तर, अहिले सम्म केन्द्रको नेतृत्व नहुनु र आवश्यक पर्ने तयारी अगाडि नबढाउनुले ग्लोबल फन्डले सरकारलाई दिएको सबै कार्यक्रम फिर्ता लैजाने सम्भावना धेरै छ । 

ग्लोबल फन्डले कार्यक्रम फिर्ता लैजानुको एउटा कारण डा सञ्जय ठाकुर पनि हो । दातृ निकायसँग व्यापक दलाली गर्ने ठाकुरको नियतिले राज्यलाई ठुलो घाटा लागेको छ । १७ दिन अगाडि सरुवा भएका ठाकुर खटाएको स्थान वीर अस्पताल अझै गएका छैनन् । बिहान केन्द्र जाने हाजिर लगाउने र घर जाने गर्दै आएका छन् । ग्लोबल फन्डसँग दलाली गरेर खान पल्केका ठाकुरलाई “कठालो” मा समातेर ननिकाल्दा सम्म केन्द्रमै “ओथारा” बसिरहने देखिएको छ ।

अधिकारीहरूका अनुसार महत्वपूर्ण केन्द्रमा मन्त्रालयले नयाँ निर्देशक नपठाउँने र सरुवा भएका व्यक्ति पनि लामो समय सम्म रमना नलिई त्यही बस्नुले उनको नियतमा दाग लागेको प्रस्ट हुन्छ । यस्तो कर्मचारीको चरित्रले पनि ग्लोबल फन्डले सरकारलाई पीआर दिनेमा आशका उब्जिएको छ । 

स्वास्थ्य लाइभले विगत लामो समय देखि ग्लोबल फन्ड लगायत राष्ट्रिय अन्तराष्ट्रिय दातृ निकायले दिने अनुदानको समेत उचित कार्यान्वयनका लागि आवश्यक खबरदारी गर्दै आएको छ । हाल सेभ द चिल्ड्रेन मार्फत नेपालमा ग्लोबल फन्ड कार्यान्वयन भइरहेको छ । अब भने, युएनडिपीमा जाने निर्णय भएको छ ।

स्वास्थ्य लाइभले पाएको जानकारी अनुसार क्षयरोग, एचआइभी र मलेरिया कार्यक्रम अन्तर्गत अध्ययन अनुसन्धानका क्षेत्रमा सेटिङ गरेर अमुख एजेन्सीले ठुलो राशिको कार्यक्रम लैजाने गरेको पत्ता लागेको छ । यसमा सेभमा काम गरेका कर्मचारी र सरकारका सिनियर कर्मचारीको समेत मिलेमतो रहेको विषय स्वास्थ्य लाइभलाई राम्रो जानकारी छ । यसको पर्दाफास हामीले चाडै गर्ने छौं । त्यसैले कुनै पनि बिचौलियाले खेल्ने स्थान नहुँदै सरुवा बढुवामा ध्यान दिनुपर्छ । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ