स्वास्थ्यमन्त्रीले पैसा खाएर आयुर्वेद विभागको महानिर्देशक परिवर्तन गरेको आशंका
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपित व्यक्तिमाथि छानबिन गर्नुपर्नेमा महानिर्देशकको बिल्ला
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने जिम्मा पाएका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आयुर्वेद विभागको महानिर्देशक परिवर्तनमा पैसा खाएको आशंका गरिएको छ। ११ तहका डाक्टर प्रदीप केसीलाई हटाएर उनले १० औं तह त्यसमा पनि शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लागेका डा. श्यामबाबु यादवलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका छन् ।
११ तह हुँदाहुँदै १० औं तहको कर्मचारीलाई निमित्त दिनुको पछाडि पैसाकोबाहेक अन्य कुनै चलखेल हुँदैन । विगतमा पनि सिनियरलाई हटाएर जुनियरलाई जिम्मेवारी दिँदा थोरबहुत पैसाको खेलो हुँदै आएको थियो । केही दिन अगाडि प्रदीप पौडेलले आयुर्वेद विभागको महानिर्देशकबाट प्रदीप केसीलाई सिंहदरबार वैद्यखाना पठाएर विभागमै कार्यारत डा. यादवलाई निमित्तको जिम्मेवारी दिएका हुन्।
सिंहदरबार वैद्यखानाकै कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आयुर्वेदमा ५० हजारसम्म पैसा लिएर कर्मचारी सरुवा हुने गरेको भन्दै पौडेलमाथि कटाक्ष गरेका थिए। त्यसको बहस सेलाउन नपाउँदै पौडेलले बालेनको भनाईलाई थप पुष्टि गरिदिएका छन्। नक्कली शैक्षिक प्रमाणपत्रको आरोपित व्यक्तिमाथि छानबिन गर्नुपर्नेमा महानिर्देशकको बिल्ला भिराएपछि पौडेलको कर्तुत स्वास्थ्यमा छताछुल्ल हुन थालेको छ।
पौडेलले महानिर्देशक बनाएका १० औंँ तहका डा. श्यामबाबुले नेपालमा आयुर्वेद सहायक अध्ययन गरिरहेको समयमा भारतको बिहारमा विज्ञान विषयमा आइएससी अध्ययन गरेको देखिएको छ। डा. यादव त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आयुर्वेद क्याम्पसमा सहायक आयुर्वेद कार्यकर्ता अध्ययनका लागि २०४६ मा भर्ना भएको प्रमाणपत्रबाट खुल्छ। उनले २ वर्षमा आयुर्वेदको कोर्ष पूरा गरी २०४८ साउन १३ मा पास गरेको देखिन्छ ।
यस क्षेत्रका विज्ञहरुले बताए अनुसार प्राविधिक बिषय आयुर्वेद, अहेव, सीएमए जुनसुकैमा कम्तीमा ३ महिना प्रयोगात्मक (ओजेटी) गर्नैपर्छ । कोर्ष २०४७ चैतमा सकिए पनि ओेजेटी ३ महिना कम्तीमा गर्दा उनको पढाइ २०४८ साउनसम्म हुन्छ। डा. यादवले २०४६ साउनदेखि २०४८ साउनसम्म नै नेपालको आयुर्वेद क्याम्पसमा नियमित अध्ययन गरेर मात्र प्रमाणपत्र पाएका हुन्।
प्राप्त डकुमेन्ट अनुसार सन् १९८९ जुलाई देखि १९९१ जुलाईसम्म उनले नेपालको आयुर्वेद क्याम्पसमा अध्ययन गरेको देखिन्छ। तर उनले उता बीएमएस अध्ययनका लागि पेश गरेको भारत बिहारको सीतामढीको रामऔतार राजकिशोर माधुरी यादव कलेजको प्रमाणपत्रमा सन् १९९० देखि १९९२ सम्म आइएससी अध्ययन गरेको उल्लेख छ।
हामीले जान्न चाहेको विषय नेपालमा आयुर्वेद अध्ययन गरिरहेकै समयमा बिहारको सितामढीबाट कसरी यादवले आइएससी पास गरे? दुवै विषय विद्यार्थी स्वयं कक्षामा उपस्थित भएर अध्ययन गर्नुपर्ने हुन्छ। त्यसैले यादवको हातमा भएको शैक्षिक योग्यताको प्रमाणपत्र नेपाली र भारतबाट ल्याएकोमध्ये एक नक्कली हुनुपर्छ। यदी एकै समयमा मिल्ने भए त्यसमा हाम्रो भन्नु केही छैन। त्यही मिल्दैन भने, नक्कली प्रमाणपत्रका आधारमा यादवले आयुर्वेदमा बीएमएस र एमडी गरिसकेका छन्। यस्ता व्यक्ति मन्त्री पौडेलका विश्वास पात्र हुन्। यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र जस्ता सरोकारवाला निकायले छानबिन गरी दोषी देखिएको खण्डमा यादव मात्र हैन नियुक्ती गर्ने पौडेलमाथि पनि कारबाही गर्नुपर्छ ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
तपाईको प्रतिक्रिया दिनुहोस