अर्थ मन्त्रालयबाट ४ सहसचिव आउट भए, तीन सहसचिव अर्थ भित्रिए
काठमाडौं। अर्थ मन्त्रालयबाट ४ जना सहसचिव बाहिरिएका छन्। अर्थ मन्त्रालयबाट सहसचिवहरू गजेन्द्रकुमार ठाकुर, श्यामप्रसाद भण्डारी, भरतमणि पाण्डे र रमेश अर्याल बाहिरिएका छन्। सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख रहेका ठाकुर उपराष्ट्रपति कार्यालय सरूवा भएका छन्। त्यस्तै भन्सार विभागको महानिर्देशक रहेका श्यामप्रसाद भण्डारी मन्त्रालयको जगेडा हुँदै आउट भएर राष्ट्रपति कार्यालय पुगेका छन्। भन्सार विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डे लुम्बिनी प्रदेश र आन्तरिक राजस्व विभागको महानिर्देशक रमेश अर्याल गण्डकी प्रदेश सरूवा भएका हुन्।
अर्थ मन्त्रालयमा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव यमलाल भुसाल र भीष्मकुमार भुसाल भित्रिएका छन्। त्यस्तै युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव प्रेमप्रसाद आचार्य पनि अर्थ मन्त्रालय पुगेका हुन्। भन्सार र आन्तरिक राजस्व विभाग नेतृत्वविहीन हुँदा अर्थमा भुसाल बन्धु र आचार्य भित्रिएका हुन्। उनीहरूले महत्त्वपूर्ण जिम्मेवारी पाउने देखिन्छ।

सञ्चार मन्त्रालयका सहसचिव रामदत्त भट्ट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भएका छन्। सहसचिव मनिता श्रेष्ठको युवा, श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएकी हुन्। उनको दरबन्दी मिलान गरिएको हो।
शिक्षातिर रहेका मोनिका झा र शैलेशकुमार झालाई दरबन्दी मिलान गरेर विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सरुवा गरिएको छ।
हङकङको महावाणिज्यदूतबाट तानिएका सहसचिव विन्देश्वरप्रसाद लेखकलाई भने मधेश प्रदेश पठाइएको छ। उनी तरमारा सहसचिव हुन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय वा अन्तर्गतका ३ सहसचिवको सरुवा भएको छ। कोशी प्रदेशका सचिव यदुचन्द्र घिमिरेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। कोशी प्रदेशको स्वास्थ्य सचिवमा भने कृतिपाल सुवेदीलाई पठाइएको हो।
मधेश प्रदेशका स्वास्थ्य सचिव रामआधार यादवको पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ। १५ सहसचिवको सरुवा हुँदा स्वास्थ्यका ३ जना परेका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस