सरकारले दियो दलीय कर्मचारी ट्रेड युनियनलाई ३ दिनभित्र भवन खाली गर्न ‘अल्टिमेटम’


काठमाडौं । सरकारले खारेजीमा परेका दलीय कर्मचारी ट्रेड युनियनलाई ३ दिनभित्र भवन खाली गर्न ‘अल्टिमेटम’ दिएको छ। आठ कर्मचारी संघ/संगठनलाई ३ दिनभित्र सरकारी भवन तथा कार्यालय खाली गर्न निर्देशन दिएको हो।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला र तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कानुनी मान्यता समाप्त भइसकेका कर्मचारी संघ/संगठनले अझै पनि सरकारी भवन तथा कार्यालय प्रयोग गरिरहेको पाइएकाले तत्काल भवन खाली गर्न ‘अल्टिमेटम’ दिएको हो। सरकारको ‘अल्टिमेटम’सँगै दलीय ट्रेड युनियनको कब्जाबाट सरकारी भवन मुक्त हुने प्रक्रिया अघि बढेको छ।

मन्त्रालयले दलीय कर्मचारीका ८ ट्रेड युनियनलाई सूचना प्राप्त भएको मितिले तीन दिनभित्र आफूले प्रयोग गर्दै आएका कार्यालय, कोठा तथा अन्य सरकारी सम्पत्ति खाली गरी सम्बन्धित निकायलाई बुझाउन निर्देशन दिएको हो। तोकिएको अवधिभित्र भवन खाली नगरे प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने सरकारको चेतावनी छ।

सरकारले यसअघि कर्मचारी ट्रेड युनियनसम्बन्धी व्यवस्थाअनुसार केही कर्मचारी संघ/संगठनको वैधानिक हैसियत समाप्त भएको निर्णय गरेको थियो। त्यसपछि पनि ती संगठनहरूले सरकारी कार्यालय तथा भवन प्रयोग गरिरहेको भन्दै मन्त्रालयले भवन फिर्ता गराउने प्रक्रिया अघि बढाएको हो।

मन्त्रालयले सरकारी सम्पत्तिको संरक्षण र प्रभावकारी उपयोगका लागि कानुनी मान्यता समाप्त भएका कुनै पनि संघ/संगठनलाई सरकारी भवन प्रयोग गर्न नदिने स्पष्ट गरेको छ। योसँगै लामो समयदेखि सरकारी भवन कब्जा गरेर बसेका दलीय ट्रेड युनियनहरू भागाभाग हुने अवस्था आएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ