भोजपुरका कार्की मुख्यसचिवमा बढुवा
काठमाडौं। मुख्यसचिवमा भोजपुरका गोविन्दबहादुर कार्की बढुवा भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई मुख्यसचिवमा बढुवा गरेको हो। प्रधानमन्त्री कार्यालयमा बसेर काम देखाएका कार्की कार्यकुशलताको आधारमा मुख्यसचिवमा बढुवा भएका हुन्।
२०२७ साल पुस २५ गते भोजपुरमा जन्मिएका कार्की २०५३ पुस ७ गतेबाट सरकारी सेवा सुरू गरेका थिए। २०७० चैतमा सहसचिव भएका कार्की २०८१ भदौं २० मा सचिवमा बढुवा भएका थिए। सचिव भएपछि बागमती प्रदेश, वाणिज्य तथा आपूर्ति सचिव हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका कार्की बालेन सरकारको स्पिरिटमा चलिरहेका छन्। प्रधानन्यायाधीशमा जस्तै मुख्यसचिवमा पनि क्रमभङ्गता गरेको छ।
मुख्यसचिवको ३ वर्ष सेवा अवधि कायम रहँदा ५८ वर्षे उमेर हदका कारण कार्कीले साढे दुई वर्ष मुख्यसचिव चलाउँछन्। उनी हाल साढे ५५ वर्षका भए। ३० वर्ष सेवा अवधि भने पुसमा पुग्ने देखिन्छ।
कार्कीभन्दा अगाडि किरणराज शर्मा, हरिप्रसाद मैनाली, गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, गोपालप्रसाद सिग्देल, रविलाल पन्थ, रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौला, सरजुकुमार वैद्य, डा. दिपक काफ्ले, नारायणप्रसाद शर्मा दुवाडी, लक्ष्मीकुमारी बस्नेत, विश्वबाबु पुडासैनी, राधिका अर्याल, घनश्याम उपाध्याय, दिनेशकुमार घिमिरे, सरिता दवाडी, चूडामणि पौडेल, पाराश्वर ढुंगाना, केदारनाथ शर्मा, लोकनाथ पौड्याललगायत सचिव रहेका थिए। साढे दुई दर्जन सचिवलाई पछाडि पर्दै भोजपुरे कार्की मुख्यसचिवमा बढुवा भएका हुन्। ३० औं मुख्यसचिवमा कार्कीले बाजी मारेका छन्।
ल्हासाको महावाणिज्यदूत, पर्यटन विभागको महानिर्देशक, एलडिओ, सिडिओ सबै चलाएका कार्की काविला कर्मचारी मानिन्छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस