‘ब्याची’ मुख्यसचिव हुँदा सचिव पौड्याल र अधिकारी घर जाने तरखरमा


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा रहेका सचिव लोकनाथ पौड्याल घर जाने तयारीमा छन्। उनी साउन ६ गते (दुई हप्ताभित्रै) ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्। पौडयालका ‘ब्याची’ सहसचिव गोविन्दबहादुर कार्की मुख्यसचिव हुँदा उनी भने घर जाने तरखरमा देखिन्छन्।

युवा तथा खेलकुद मन्त्रालय खारेजीमा परेपछि सचिव पौड्याल फाजिलमा परेका हुन्। सचिव पौड्याल प्रधानमन्त्री कार्यालयबाटै घर जाने तरखरमा छन्। कृष्णहरि पुष्कर कर्ण घर गएपछि उनी पालो कुरेर बसेका हुन्। साउनको पहिलो हप्ता नै घर जाने सचिव पौड्यालको साइत छ।

त्यस्तै २०७० साल चैतमा मुख्यसचिव कार्कीसँगै आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका बाबुराम अधिकारी पनि भदौ ३ गते घर जाने सूचीमा छन्। ५८ वर्ष पूरा भएर उनी भदौं टेक्नेबित्तिकै अनिवार्य अवकाशमा जान लागेका हुन्।

छोटो समय रहेकाले उनी प्रदेशबाटै घर जाने उच्च जोखिम छ। पौड्याल मुख्यसचिव कार्कीभन्दा अगाडि सचिवमा बढुवा भएका थिए भने अधिकारी उनीभन्दा पछाडि सचिव भएका हुन्। कार्की मुख्यसचिव हुनुपर्ने प्रशासक हुन्। पौड्याल र अधिकारी भने घर जान लायक थिए। नियतिले पनि त्यस्तै अवस्था ल्याइदिएको हो।

मुख्यसचिव कार्की कै ‘ब्याची’ केदारनाथ शर्मा रक्षा मन्त्रालयको सचिवको भूमिकामा छन्। उनको अझै एघार महिना जागिर बाँकी छ। शर्मा २०८४ जेठ मसान्तमा ५८ वर्ष पूरा भएर अवकाशमा जाने सूचीमा छन्। निर्वाचन आयोगका सचिव महादेव पन्थ पनि मुख्यसचिव कार्कीका ‘ब्याची’ हुन्। पन्थ ५८ वर्ष पूरा भएर पुस मसान्त(६ महिनाभित्र)मा अनिवार्य अवकाशमा जाने सूचीमा रहेका हुन्।

मुख्यसचिव कार्कीका ‘ब्याची’ रघुराम विष्ट छोटो समय सचिव भएर अवकाशमा गइसकेका छन्। उनीसँगै सहसचिव भएका प्रेमकुमार श्रेष्ठ र काशिराज दाहाल सचिव नै नभइ घर गए। गृह सचिव राजकुमार श्रेष्ठका दाइ प्रेमका ‘ब्याची’ कार्की मुख्यसचिव हुँदा प्रेम भने सहसचिवबाट अवकाशमा गइसकेका छन्। सचिव बढुवा अगाडि भएपनि राजकुमारलाई दाइका ‘ब्याची’ मुख्यसचिव भएकाले खासै सकस पर्ने देखिँदैन।

मुख्यसचिव कार्कीको ‘ब्याच’का सचिवमा सबैभन्दा लामो समय विशिष्ट श्रेणीको जागिर खानेमा उनी मात्र देखा परेका छन्। रघुराम सचिव भएर घर गइसके, लोकनाथ र बाबुराम घर जाने तयारीमा छन्। महादेव पनि पालो कुरेर बसेका छन्। केदारनाथले अहिले कुनै उथलपुथल नभए अर्को गतिलै मन्त्रालय चलाउने सम्भावना छ। कार्की र शर्मा उक्त ‘ब्याच’का काबिल प्रशासन हुन्।

मुख्यसचिवको दुई वर्षे सेवा अवधि कायम हुँदा कार्कीले पूरा कार्यकाल चलाउने सम्भावना पनि उत्तिकै छ। उनीसँग ५८ वर्ष पूरा हुन चोखौ साढे दुई वर्ष बाँकी छ। जे होस् मुख्यसचिव निजामती कानुन ल्याएर १२ वर्षमा खोलो फर्काउने देखिन्छ। उक्त कानुन ल्याएर जस लिने अवसर कार्कीले पाएका छन्। परिस्थितिले पनि त्यस्तै अवस्था ल्याएको छ। यो नै मुख्यसचिव कार्कीको सबैभन्दा ठूलो सफलता हुनेछ।

बालेन सरकारलाई मुख्यसचिवमा सिनियर होइन काम गर्ने प्रशासक चाहिएको छ। उक्त काम कार्कीबाट हुने देखेर मुख्यसचिव बनाएको देखिन्छ। सिनियर सचिव किरणराज शर्मा कै कामबाट सरकारले मुख्यसचिवमा सिनियर होइन काम गर्न काबिल प्रशासन चाहिन्छ भनेर कार्कीलाई रोजेको अनुमान लगाउन सकिन्छ।

जगेडामा रहेका सचिव घर जाने तयारीमा भन्ने स्थानमा गलत अर्थ लाग्ने “शब्द” लेखिएकोमा क्षमायाचना सहित सच्याइएकाेछ । आगामी दिनमा यस्ता शब्दमा विशेष ध्यान दिइनेछ – सम्पादक 

 

क्याटेगोरी : समाचार
ट्याग : #गोविन्दबहादुर कार्की, #बाबुराम अधिकारी, #लोकनाथ पौड्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ