मुख्यसचिवबाट अर्यालको ‘ग्रेसफुल एक्जिट’
काठमाडौं। ५८ वर्षे उमेर हदका कारण अवकाशमा जान लागेका मुख्यसचिव सुमनराज अर्याल सम्मानजनक बहिर्गमन (ग्रेसफुल एक्जिट) भएका छन्। करिब ८ महिना अगाडि नेपाल सरकारको मुख्यसचिव सचिव भएका अर्याल शुक्रबार बिदाइ हुँदैछन्। उनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिदाइ कार्यक्रम राखिएको छ। सरकारले नयाँ मुख्यसचिवमा गोविन्दबहादुर कार्कीलाई बढुवा गरिसकेकाले उनलाई उत्तराधिकारी बनाएर अर्याल बिदाइ हुँदैछन्।
२०२५ साल असार २६ गते काठमाडौंको जोरपाटीमा जन्मिएका अर्याल ५८ वर्ष पूरा भएर कर्मचारी प्रशासनको सर्वोच्च पदमा पुग्न सफल भए। तथ्याङ्कतिर जागिर खाएर मुख्यसचिव बन्नु चानचुने कुरा होइन। अर्याल मुख्यसचिवको जिम्मेवारीमा रहँदा चर्को विवादमा परेनन्। यसअघिका बहालवाला मुख्यसचिवलाई भ्रष्टाचार मुद्दा लाग्दा र आफ्नो स्वार्थमा देउसीभैलो खेलेर विवादमा पर्दा पनि अर्याल ‘न्यूटल’ भएर आफ्नो जिम्मेवारी पूरा गरे।
मुख्यसचिवको हैसियतमा अर्यालले देशलाई विगार्ने गरी र आफ्नो व्यक्तिगत स्वार्थका लागि देखिने गरी कुनै काम गरेनन्। फरक सेवा, समूहबाट आएर पनि खासै विवादमा नपरीकन मुख्यसचिव बन्न सकिन्छ भनेर उनले नजिर स्थापित गरिदिएका छन्।
अर्याल खुला प्रतिस्पर्धाबाट शाखा अधिकृत, आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव र खुला प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। उनी २०५३ सालमा अधिकृत, २०६६ सालमा उपसचिव, २०६८ सालमा सहसचिव, २०७७ साल माघमा सचिव र २०८२ मंसिरमा मुख्यसचिव भएका थिए।
२०७७ माघ १९ गते नेपाल प्रशासन सेवाको सचिव भएपछि कोशी प्रदेशको प्रमुख सचिव भएका अर्याल त्यसपछि महालेखा नियन्त्रक भएर काठमाडौं आएका थिए। उनी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयको सचिव हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा पुगेका थिए। त्यसपछि राष्ट्रिय योजना आयोग हुँदै उनी रक्षा मन्त्रालय पुगेका हुन् अर्याल रक्षाबाटै मुख्यसचिव बनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। करिब ८ महिना मुख्यसचिव बनेर अर्यालले ‘ग्रेसफुल एक्जिट’ लिएका हुन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस