‘ई-पेन्सन’ सेवा: श्रेणिविहीनदेखि मुख्यसचिवसम्म लाभान्वित
काठमाडौं। नेपाल सरकारको मूख्यसचिवबाट अवकाश प्राप्त सुमनराज अर्यालले ई-पेन्सन सेवा प्राप्त गरेका छन्। राष्ट्रिय कितावखानाले उनलाई धन्यवादसहित कृतज्ञता प्रकट गरेको छ। कितावखानले आफ्ना सम्पूर्ण सेवाहरुलाई विद्युतीय रूपान्तरण गर्दै लैजाने क्रममा पेन्सन प्रयोजनको लागि ४ महिना अघि “ ई-पेन्सन सेवा मोड्यूल” संचालनमा ल्याएको थियो। उक्त सेबाबाट सेवानिवृत्त मुख्यसचिव अर्याल समेत लाभान्वित भएका हुन्।
वर्तमान सरकारको ‘स्पिरिट’लाई पूर्णआत्मसात गर्दै आफ्ना सम्पूर्ण सेवाहरुलाई विद्युतीय प्रविधिका माध्यमबाट रुपान्तरण गरी कितावखानाले छलाङ मारेको छ। अनुहारविहीन (फेसलेस) सेवाको रुपमा सुगमदेखि दुर्गम, तराइदेखि हिमालपारिका जिल्लासम्म पुऱ्याउन राष्ट्रिय कितावखाना सफल भएको हो। वर्तमान सरकारले सार्वजनिक सेवा प्रवाहका सम्वन्धमा परिकल्पना गरेको मार्गचित्रको दूरुस्त कार्यान्वयन गरेको कितावखानाले आफ्ना सवै सेवाहरुलाई भौतिक उपस्थिति विना नै ‘फेसलेस’ प्रवाह हुने तहमा पुऱ्याइसकेको छ। केहि महिना अघि विभागीयमन्त्री प्रतिभा रावलको उपस्थितिमा विभागका सबै सेवाहरू फेसलेस भएको घोषणा गरिएको थियो।
२०८२ चैत्र ८ गतेबाट शुरु गरेको ई-पेन्सन सेवा लिनेको आज सम्मको संख्या ५६२ पुगेको छ। जुन कुल पेन्सन सेवा लिने ६९९ जनाको तुलनामा ८० प्रतिशत हो। तथ्यांकले अझै २० प्रतिशत निवृत्त कर्मचारी विभागमै आउने गरेको देखाएको छ। यस अवधिमा सुगम जिल्लाहरुका अतिरिक्त ताप्लेजुङ, सोलुखुम्वु ,मनाङ ,मुस्ताङ ,हुम्ला , जुम्ला , कालिकोट, दार्चुला लगायतका जिल्लाहरुवाट समेत निवृत्त कर्मचारीले उत्साहका साथ ई-पेन्सन सेवा प्राप्त गरेको राष्ट्रिय कितावखानाले जनाएको छ। ई-पेन्सन सेवाबाट श्रेणिविहीनदेखि मुख्यसचिवसम्म लाभान्वित भएका छन्। सुमनराज अर्याल ई-पेन्सन सेवा लिने पहिलो सेवानिवृत्त मुख्यसचिव हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस