सचिव सरूवा: अख्तियारमा शर्मा, वाणिज्यमा दोहोऱ्याएर दुवाडी
काठमाडौं। सरकारले आधा दर्जन सचिवको सरूवा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा रहेका सचिव डिल्लीराम शर्मा अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुगेका छन्। उनको जागिर १ महिना बाँकी छ।
अख्तियारका सचिव नारायणप्रसाद शर्मा दुवाडी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सरूवा भएका छन्। यसअघि पनि वाणिज्य तथा आपूर्ति मन्त्रालयको भूमिकामा काम गरिसकेका दुवाडी दोहोऱ्याएर उक्त मन्त्रालयमा पुगेका हुन्। मधुकुमार मारासिनी भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि उनी सुदूरपश्चिम प्रदेशबाट वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरूवा भएका थिए। राष्ट्रपति कार्यालय, अख्तियार हुँदै उनी दोहोऱ्याएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरूवा भएको छ। दोहोऱ्याएर उद्योग पुगेका राउत अवकाश हुन ६ महिना बाँकी हुँदा महिला मन्त्रालय पुगेका छन्। महिला मन्त्रालयको सचिव राधिका अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा सरूवा भएकी हुन्।
यता प्राविधिक तर्फ विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवमा दिनानाथ मिश्रलाई पठाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा रहेका मिश्र विज्ञान प्रविधि मन्त्रालयमा लामो समय बसेर काम गरेका थिए। सचिव भएपछि जल तथा ऊर्जा आयोग पुगेका मिश्र राष्ट्रिय सतर्कता केन्द्र हुँदै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पुगेका हुन्। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अनुभवी सचिव खोजिरहेका बेला मिश्रले ‘इन्ट्री’ पाएका छन्।
त्यस्तै साविकको खानेपानी मन्त्रालय पूर्वाधार विकास मन्त्रालयमा बिलिन भएपछि हल्लिरहेका सचिव विश्वबाबु पुडासैनी राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएका छन्। उनको सरूवा भएसँगै अब सबै मन्त्रालयमा एक मात्र सचिव रहने भएका हुन्। सरकारले कार्यसम्पादनका आधारमा सचिवहरू व्यवस्थापन गर्न थालेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस