खारेजीको सिफारिसमा परेको सहकारी विभागलाई निरन्तरता दिने संकेत
काठमाडौं। सहकारी विभागलाई निरन्तरता दिने संकेत देखा परेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त विभागलाई खारेजीको प्रक्रियामा लान आनाकानी गरिरहेको छ। अहिले उक्त विभाग खारेजीमा लाने उपयुक्त अवसर प्राप्त हुँदा पनि मन्त्रालयले त्यसमा कुनै कदम चालेको पाइँदैन।
मन्त्रिपरिषद्को बैठकले ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ। उक्त प्रतिवेदनमा “विद्यमान सहकारी विभागलाई खारेज गरी मन्त्रालयमा नीतिगत र कानुनी कार्यका लागि सानो आकारको ‘सहकारी महाशाखा’ कायम राख्ने र बचत तथा ऋणको मुख्य कारोबार गर्ने बाहेकका सहकारीहरूको प्रवर्द्धन र सुपरीवेक्षण कार्य गर्ने गराउन लगाउने जिम्मेवारी दिन उपयुक्त हुन्छ”, भन्ने सिफारिस गरिएको छ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भइसकेको, अधिकांश सहकारी संस्थाहरू प्रदेश तथा स्थानीय तहमा गइसकेको अवस्थामा मन्त्रालयले प्रतिवेदनको मर्म अनुसार उक्त विभाग खारेज गर्न पनि सक्थ्यो। यसअघि पनि मन्त्रालयको प्रशासन महाशाखाले सहकारी समेत हेर्ने गरेको थियो। अहिले मन्त्रालयमा थपिएको कानुन महाशाखा अन्तर्गत पनि नीतिगत र कानुनी कार्य गराउने सकिने अवस्था रहन्थ्यो। योजना महाशाखामै लगेर सहकारी मिसाउने सकिने ठाउँ पनि उत्तिकै थियो। तर, मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्दा उक्त पाटोमा ध्यान दिएको पाइँदैन।
मन्त्रिपरिषद्को बैठकले ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेपछि प्रतिवेदनको सिफारिसमा परेको सहकारी विभाग खारेजी मन्त्रालयको प्राथमिकतामा पर्नु पर्ने हो। उक्त प्रतिवेदनले दर्ता, सेवा केन्द्र तथा कार्यक्षेत्र विस्तार गर्दा बदमासी गर्ने सहकारी विभागका तत्कालीन जिम्मेवार अधिकारीहरूमाथि विस्तृत अनुसन्धान गरेर कारबाही गर्न समेत सिफारिस गरेको थियो। उक्त सिफारिस समेत प्रस्टीकरणभन्दा अगाडि बढ्न सकेको देखिँदैन। सहकारी विभागको औचित्यमाथि पटकपटक प्रश्न उठ्दा र विभिन्न समिति तथा आयोगले खारेज गर्न सिफारिस गर्दा समेत मन्त्रालयको ठोस कदम चाल्न सकेको छैन। अहिले संगठन संरचना फेरबदल गर्न सिङ्गो सरकार लागिरहेको अवस्थामा सहकारी विभागलाई व्यवस्थापन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय चुकेको देखिन्छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस