गृहसचिव श्रेष्ठ र सचिव बढुवाको मुखमा रहेका नेपाल एकसाथ घर जाँदै


काठमाडौं। गृहसचिवको जिम्मेवारीमा रहेका राजकुमार श्रेष्ठ अनिवार्य अवकाशमा जाँदैछन्। सचिवको ५ वर्षे सेवा अवधिका कारण गृहसचिव श्रेष्ठ अवकाशमा जान लागेका हुन्।

गत पुसमा गृहसचिवको जिम्मेवारी सम्हालेका श्रेष्ठ ठ्याक्कै ८ महिनापछि घर गएका छन्। कर्णाली प्रदेशको प्रमुख सचिव, लोक सेवा आयोगको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै श्रेष्ठ गृहसचिव बनेका थिए। २०७८ भदौ १६ गते सचिवमा बढुवा भएका गोरखाली श्रेष्ठ आजबाट अनिवार्य अवकाशमा जान लागेका हुन्। विद्यालय निरीक्षकबाट जागिर सुरू गरेका श्रेष्ठ गृहसचिवबाट घर जान लागेका हुन्।

श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएसँगै सरकारले नयाँ गृहसचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। रक्षा सचिवको भूमिकामा रहेका शर्माले सम्भवतः आजै गृहसचिवको जिम्मेवारी सम्हाल्नेछन्। गृहमा श्रेष्ठको बिदाइ र शर्माको स्वागत एकसाथ हुन पनि सक्छ।

कोशी प्रदेशको प्रमुख सचिव, भूमि व्यवस्था मन्त्रालय हुँदै रक्षा सचिव बनेका शर्माले गृहको बागडोर सम्हाल्ने भएका छन्। शर्माको साढे ९ महिना जागिर बाँकी छ।

यता सचिव बढुवाको मुखमा रहेका श्रीकृष्ण नेपाल पनि आजैबाट अनिवार्य अवकाशमा जाँदैछन्। सहसचिव नेपाल ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्। २०२५ साल भदौ १६ गते पाल्पामा जन्मिएका नेपाल मुखमा आएको सचिव पद फूत्काएर घर जान लागेका छन्। हुन त सरकारले उनलाई मासिक ३० औं लाख आम्दानी हुने वैदेशिक अवसर दिइसकेको छ। घर जाने बेलामा सचिव पनि दिइरहनु पर्ने त्यस्तो बाध्यता देखिँदैन। सचिव बनाउने प्रक्रिया पनि पूरा भइनसकेकाले सहसचिव नेपाल सचिव नभइ घर जाने निश्चित छ।

क्याटेगोरी : समाचार
ट्याग : #राजकुमार श्रेष्ठ, #श्रीकृष्ण नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ