चिकित्सा शिक्षासम्बन्धी आरोपमा निजी मेडिकल कलेज एसोसिएशनको आपत्ति


काठमाडौं । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद रहबर अन्सारीले प्रतिनिधि सभामा उठाएको आरोपप्रति निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएशन अफ नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको  बताएको छ।

एसोसिएशनले सांसद अन्सारीले नेशनल मेडिकल कलेजमा काम नगर्ने व्यक्तिलाई संकाय सदस्यका रूपमा देखाएर स्नातकोत्तर (पीजी) सिट लिइएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरिएको तथा विद्यार्थीले अनियमितताका विषय उठाएपछि उनीहरूको अध्ययन र आवासमा अवरोध गरिएकोलगायतका आरोप संसद्मा उठाएको जनाएको छ।

एसोसिएशनले चिकित्सा शिक्षाको गुणस्तर नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिने भएकाले यस्ता आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएको छ। कुनै मेडिकल कलेजमा अनियमितता भएको तथ्य र प्रमाण भए चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिललगायतका नियामक निकायमार्फत छानबिन र कारबाही हुनुपर्ने उसको भनाइ छ।

तर एसोसिएशनले आरोप र प्रमाणित तथ्य एउटै नभएको भन्दै आधिकारिक छानबिन र निष्कर्षअघि आरोपलाई नै स्थापित तथ्यका रूपमा प्रस्तुत नगर्न आग्रह गरेको छ।

त्यसरी आरोप सार्वजनिक हुँदा सम्बन्धित संस्थाको प्रतिष्ठासँगै विद्यार्थीको मनोबल र भविष्य, चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत प्रतिष्ठा, उपचाररत बिरामीको विश्वास र समग्र चिकित्सा शिक्षा तथा स्वास्थ्य प्रणालीप्रतिको सार्वजनिक भरोसामा असर पर्न सक्ने एसोसिएशनको भनाइ छ।

एसोसिएशनले प्रमाणित अनियमितताको संरक्षण गर्न नहुने तर प्रमाणित हुन बाँकी आरोपका आधारमा कसैलाई सार्वजनिक रूपमा दोषी ठहर गर्ने अवस्था पनि बन्न नहुने स्पष्ट पारेको छ।
उसले चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल तथा अन्य अधिकारप्राप्त निकायलाई संसद्मा उठाइएका विषयमा शीघ्र, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ।

साथै विद्यार्थीको भविष्य, बिरामीको सेवा र नेपालको चिकित्सा शिक्षाप्रतिको सार्वजनिक विश्वासलाई केन्द्रमा राखेर सम्बन्धित सबै पक्षलाई संयमित र तथ्यमा आधारित अभिव्यक्ति दिन एसोसिएशनले अनुरोध गरेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ