‘कोभ्याक्ले’ पहिलो डोज खोप दियो, दोस्रो डोजको सुनिश्चितता गर्न सकेन


काठमाडौं । कोभ्याक्स सुबिधाले उपलब्ध गराउने २० प्रतिशत खोप समेत थप अन्यौल बन्दै गएको छ । पहिलो मात्रा ३ लाख ४८ हजार जनालाई दिए पनि दोस्रो मात्राको जोहो गर्न कोभ्याक्सले सकेको छैन ।

कोभ्याक्स नाम गरेको एउटा महत्वाकाङ्क्षी अन्तर्राष्ट्रिय अभियानले कोरोना खोप धनी वा गरिब सबैलाई समान ढङ्गले वितरण गर्ने लक्ष्य लिएको थियो । सोही लक्ष्य अनुसार नेपालको पनि कुल जनसंख्याको २० प्रतिशत अर्थात ६० लाख जनतालाई कोभ्याक्सले खोप दिने घोषणा गरेको थियो ।

कोभ्याक्सले ०७७ फागुन २३ गते पहिलो चरणमा ३ लाख ४८ हजार डोज मात्रै खोप दिएको थियो । उक्त खोप लगाएका नागरिकलाई दोस्रो मात्राको सुनिश्चितता कोभ्याक्सले गर्न सकेको छैन । पहिलो मात्रा खोप लगाएको ८ देखि १२ हप्ताको बिचमा दोस्रो मात्रा लगाउनु पर्छ । समयमा खोप नलगा त्यसले काम गर्ने क्षमता कम हुदै जान्छ ।

विभिन्न देशका सरकार, अन्तर्राष्ट्रिय संस्था, फाउन्डेशनहरू तथा निजी क्षेत्रबाट प्राप्त एवं सिईपिआई, गावी, युनिसेफ र विश्व स्वास्थ्य संगठनको सह–योजना मार्फत कोभ्याक्स सुबिधा गठन भएको हो ।

स्वास्थ्य अधिकारीहरु भन्छन्, विश्व इतिहासकै सबै भन्दा ठुलो खोप खरिद एवं आपूर्ति अभियान मार्फत विश्वका सबै देशहरूमा कोभिड–१९ खोप न्यायोचित रूपमा पुर्याउने तर्फको यो एउटा ऐतिहासिक कदम थियो तर सफल भएन ।

कोभ्याक्स सुबिधामा अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, जापान, कोरिया, नर्वे, कतार, साउदी अरेबिया, स्विजरल्याण्ड, बेलायत, अमेरिका तथा युरोपेली आयोगका साथै विभिन्न फाउन्डेशन तथा व्यापारिक प्रतिष्ठानको सहयोग छ ।

कोभ्याक्स सुबिधाले नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोपको मात्रा सहयोग गर्ने जनाएको छ । नेपालले शरणार्थी, स्वदेश फर्केका आप्रवासी कामदारका साथै अन्य आप्रवासी जनसंख्याको समेत गरि करिब २ करोड २० लाख जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ ।

१८ वर्ष भन्दा माथिका करिब ८० लाखलाई कोरोना विरुद्धको खोप लगाइने छैन । सरकारले तयार पारेको राष्ट्रिय खोप कार्य योजना अत्यन्तै सहयोगी सिद्ध हुने बताएको कोभ्याक्स आफुले भने पहिलो मात्रा खोप दिएका नागरिकलाई दोस्रो मात्रा नदिएर अलपत्र पारेको छ ।

स्वास्थ्य सेवा बिभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले कोभ्याक्सले पुन ३ लाख ४८ हजार डोज मात्रै खोप दिने भएको बताए । तर, उक्त खोप पनि कुन मितिमा दिने निर्णय भएको छैन ।

नेपालमा हाल सम्म २५ लाख १९६ जनाले पहिलो मात्रा खोप लगाएका छन् । त्यस्तै ७ लाख ३१ हजार ६५३ जनाले दोस्रो मात्रा लगाएका छन् । तर, १३ लाख बढी जेष्ठनागरिक दोस्रो मात्रा खोप लगाउनबाट बन्चित छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com