इडीसीडीमा सेभ द चिल्ड्रेनका कर्मचारीबीच कुटाकुट



काठमाडौं, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) मा सेभ द चिल्ड्रेनका कर्मचारीबीच कुटाकुटा भएको तथ्य बाहिरिएको छ ।

इडीसीडीमा सेभ द चिल्ड्रेनका कर्मचारीबीच हात हालाहाल भएको घटनालाई गोप्य राख्न खोजिएको छ । तर सेभका कर्मचारीले  इडीसीडीको काममा अनावश्यक हस्तक्षेप गर्ने भएकाले आजित बनेका सरकारी कर्मचारीले नै त्यो घटना बाहिर ल्याइदिएका छन् ।

सरकारी कार्यालयमा कार्यालय समयभित्र आईएनजीओका कर्मचारीबीच हानाहान भएको घटनालाई सरकारी अधिकारीहरुले नै गोप्य राख्ने प्रयास गरेका छन् ।

सरकारी कार्यालयभित्र हुल हुज्जत गरेको विषयलाई गोप्य राख्न खोजेर इडीसीडी पनि विवादमा तानिएको छ ।

आईएनजीओका कर्मचारीले सरकारी कार्यालयभित्र बसेर झगडा गर्नु गम्भीर विषय भएको भन्दै त्यस्तो कार्यका संलग्नमाथि कारबाही गर्न स्वास्थ्यका अधिकारीको माग छ ।

सेभ द चिल्ड्रनले इडीसीडीको ५ वटा कोठा कब्जा गरेर मनलाग्दी गर्दै आएको इडीसीडीका एक उच्च अधिकारीले स्वास्थ्य लाइभलाई बताए । ‘ इडीसीडीका ५  वटा कोठा कब्जा गरेर सेभ द चिल्ड्रेनका १३ जना कर्मचारी बस्दै आएका छन् । तिनीहरुको कुनै काम छैन । फेसबुक चलाउने, गफ गर्ने, सरकारी काममा अबरोध खडा गर्ने र काममा हस्तक्षेप गर्ने गरेका छन् । ‘, इडीसीडीका ति अधिकारीले भने, सरकारी कार्यालय कब्जा गरेर आफूखुसी रण मैदान बनाउँदा पनि उच्च तहबाट संरक्षण हुनु आश्चर्यको विषय हो । कार्यकक्षभित्रै झगडा गरेर सरकारी कार्यालयको गरिमा र मर्यादा तोड्दा  पनि हटाउन नसक्नुले सरकार कमजोर भएको भान हुन्छ ।’,

सरकारी कर्मचारीमाथि आईएनजीओका कर्मचारी हाबी हुँदा यस्तो घटना हुनु स्वभाविक भएको ती कर्मचारीको भनाइ छ । सेभ द चिल्ड्रेनका कर्मचारी हामीलाई कसले के गर्न सक्छ जे गर्दा पनि छुट छ भन्ने मनोवृत्तिले गर्दा कार्यालयभित्रै कुटाकुट भएको हो । इडीसीडीका हाकिमहरूले छाडा छोड्दाको परिणाम अहिले देखिएको इडीसीडीका अधिकारीहरु बताउँछन् ।

सेभ द चिल्ड्रेनका प्रतिनिधि राजन भट्टराईलाई इडीसीडीभित्र हात हालाहाल भएको विषयमा बुझ्न खोज्दा यो विषयमा बोल्न नमिल्ने भन्दै पन्छिए । सरकारी कार्यालय भित्र भएको यस्तो गम्भीर घटनामा सेभ द चिल्ड्रेनले पनि आफ्नो संस्थाको अनुशासन र मर्यादाको नीतिविपरीत लुकाउन खोजेको छ ।

यो घटनाले सरकारी कार्यालयमा एनजीओ/ आईएनजीओको कुन हदसम्मको दबदबा रहेको छ भन्ने कुरा प्रष्ट हुन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ