कोरोना दोस्रो छालको निरन्तरता, तत्काल आम्सिक लकडाउनमा जान चिकित्सकको सुझाव


काठमाडौं । कोरोना दोस्रो छालको निरन्तरता सुरु भएको छ । अस्पतालहरुमा इमर्जेन्सी देखि आइसियु, भेन्टिलेटर र मृत्यु हुनेको संख्या बढ्न थालेसँगै चिकित्सकहरुले कोरोनाको दोस्रो छालको पुन निरन्तरता भएको बताएका छन् । संक्रमितको लक्षण सबै दोस्रो छालसँग मिल्ने भएकाले अहिले बढेको संक्रमण पनि त्यसकै निरन्तरता भएको शिक्षण अस्पतालका कोभिड चिकित्सक डा सन्तकुमार दास बताउँछन् ।

सरकारले कोरोना संक्रमण बढेको बताए पनि दोस्रो छालको निरन्तरता वा तेस्रो छाल सुरु भएको कुरा औपचारीक रुपमा घोषणा गरेको छैन । टेकु अस्पताल, शसस्त्र प्रहरी अस्पताल, पाटन अस्पताल र शिक्षण अस्पतालका चिकित्सकहरुले बताए अनुसार पछिल्लो एक हप्ता यता कोरोना संक्रमितको संख्या क्रमश बढिरहेको छ ।

डा दासका अनुसार शिक्षण अस्पतालमा साउन १ गतेबाट बिरामी बढेका छन् । पछिल्लो समय ७० जना बिरामी भर्ना भएकोमा दश दिनमा बढेर १३९ जना पुगेका छन् । आइसियु खाली छैन । बिरामीको सबै लक्षण हेर्दा दोस्रो छाल नै देखिन्छ डा दासले भने, ‘संक्रमितमा गंभिरता छैन, त्यसैले यो पनि दोस्रो छालकै निरन्तरता हो ।’

चिकित्सकहरुले कोरोना संक्रमण पुष्टि हुने दर नबढेको तर, परिक्षणका आधारमा संख्यामा बढेको बताएका छन् । कोरोना पुष्टि हुने संख्या बढेको हो डा दास भन्छन्, संक्रमणदर दैनिक २० देखि २५ प्रतिशतकै वरिपरी छ । चिकित्सकले खोप केन्द्र कम हुदा बढेको भिडले कोरोना बढाएको बताएका छन् । डा दासका अनुसार भिडभाडले गर्दा खोप लगाएर ज्वरो आउनेहरु पनि बढेका छन् ।

कोरोना संक्रमण बढेकाले तत्काल लकडाउनमा जान चिकित्सकहरुले सरकारलाई सुझाव दिएका छन् । चिकित्सक र उनका परिवारले बाहेक अरुले कुनै स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् । यसले जोखिम ल्याउने भन्दै तत्काल लकडाउनमा जान चिकित्सकले सुझाव दिएका हुन् ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा अनुप बास्तोला सरकारले लकडाउनको मोडालिटी अपनाउनु पर्ने बताउँछन् । अस्पतालमा कोरोनाका बिरामीहरु बढ्न थाले उनले भने, विगतमा जस्तो ढिला ग¥यौं भने हामी फेरी संकटमा पर्ने निश्चित छ । त्यसैले आवश्यकता अनुसार लकडाउनमा सरकार जानु पर्छ ।

डा बास्तोलाले तेस्रो छाल आउँन सक्ने भन्दै ३० जना स्वास्थ्यकर्मीलाई क्रिटिकल केयरको तालिम दिएका छन् । सो तालिम अहिले पनि चलिरहेको छ । धेरै भन्दा धेरै बिरामीको मृत्यु रोक्न निर्देशक बास्तोलाले स्वास्थ्यकर्मीलाई अस्पतालमा नियमीत तालिम सुरु गरेका छन् ।

त्यस्तै टेकु अस्पतालका इमर्जेन्सी बिभाग प्रमुख लिलानाथ भण्डारीले आकस्मिक कक्षमा आवश्यक शैय्या जनशक्ति, मनिटरको व्यवस्था मिलाएका छन् । विगतमा ३० जना बिरामी बरण्डामा राखेर उपचार सेवा दिएका भण्डारीले यस पटक त्यस्तो नहोस भनेर निरन्तर काममा लागेका छन् । उनले अकस्मिकका रुपमा ४० शैय्या बनाउने तयारी गरेका छन् । टेकु अस्पतालका अनुसार साउन १ देखि बिरामी बढ्न थालेका छन् ।

साउन १ गते ९ जना संक्रमित भएको अस्पतालमा अहिले १९ जना पुगेका छन् । भण्डारीले यस अगाडी पनि टेकु अस्पताल पुगेका कुनै पनि बिरामीलाई अक्सिजन अभावमा फिर्ता पठाएनन् । तत्कालीन निर्देशक डा सागर राजभण्डारी, हालका निर्देशक डा अनुप बास्तोला, इमर्जेन्सी विभाग प्रमुख लालिनाथ भण्डारी र स्टोर प्रमुख प्रकाश शर्माले टेकु अस्पताल पुगेका बिरामी कसैलाई पनि वेड अभावमा नफर्काउने नीति लिएका थिए ।

शसस्त्र प्रहरी अस्पतालका कोभिड चिकित्सक डा प्रविन नेपाल पनि कोरोना संक्रमित बढेको बताउँछन् । एक हप्ता अगाडी ४८ जना संक्रमित भएको अस्पतालमा बढेर शनिवार १५० जना पुगेका छन् । राख्न सके बिरामी आउँनेहरु धेरै छन् तर, अहिले अस्पतालमा हामीले दैनिक १० जनाका दरले राख्दै गएका छौं नेपालले भने ।

डा नेपालका अनुसार पुर्ण रुपमा लकडाउन नगरेर आम्सिक रुपमा लगाउन गर्न जरुरी छ । भिडभाड मात्रै कम भएमा अस्पतालले बिरामी धान्न सक्छन् । दोस्रो छालको सुरुवाती अवस्था नआओेस् भनेर चिकित्सकहरु प्रार्थना गरिरहेका छन् । त्यसैले उनिहरुले सरकारलाई आज भोलीनै आम्सिक रुपमा लकडाउन र चेकजाँचमा कडाइन गर्न अनुरोध गरेका छन् ।

उता राजधानी बाहिर पनि कोरोनाका बिरामी बढेका छन् । धुलिखेल अस्पताल भरिएको छ । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालीकाको संयुक्त आयोजनामा चलाएको आइसोलेसन पनि बिरामीले भरिएको छ । त्यहा कार्यरत कोभिड इन्चार्ज मथुरा सत्यालका अनुसार केही दिन यता संक्रमितहरु बढ्न थालेका छन् । शुन्यमा पुगेको केस अहिले ११ जना अस्पतालमा भर्ना भएका छन् । यो संख्या दैनिक बढ्दो क्रममा रहेको उनले बताइन् ।

सत्यालले कोरोना संक्रमण बिस्तारै बढ्न थालेकाले बढी भिडभाड हुने सार्वजनिक यातायात नियन्त्रण गर्नुपर्ने बताइन् । ‘यातायातको जोर बिजोर प्रणाली गर्नु हुदैन उनले भनिन् जोर बिजोर लागु हुदा भिडभाड झन बढ्ने छ ।’ पार्टी प्यालेसहरु समेत खुल्न थालेकाले बन्द गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

कति छन् स्वास्थ्य उपकरण

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड उपचारका लागि सेवा व्यापक सेवा विस्तार भएको छ । हाइ डिपेन्डेन्सी युनिट बेड देशभरका सरकारी सरकारी अस्पतालमा २ हजार ७५ र निजीमा ७७८ थपिएको छ । त्यस्तै अब १४ सय एचडीयु थप गरिने छ ।

भेन्टिलेटरको संख्या ९ सय ४ पुगेको छ भने, १८० थप गर्ने तयारी भएको छ । बालबालिकाका लागि १८० भेन्टिलेटर सहितको २५० आईसीयु बेड थप्ने क्रम अगाडी बढेको छ । त्यस्तै अक्सिजन आपुुर्ती सुदृढ गर्नका लागि सरकारले सघन कार्यहरुमार्फत ५५ सय अक्सिजन कन्सट्रेटर ल्याइसकेको र थप ३५ सय आउने क्रममा रहेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।

राज्यमन्त्री श्रेष्ठका अनुुसार ६ हजार ३ सय ७७ अक्सिजन सिलिण्डर थप गरिएको छ । साथै १९ वटा अक्सिजन प्लान्ट, २७ वटा अक्सिजन ट्यांक थप गर्ने योजना अन्तर्गत २ वटाको काम सकिएको छ भने ४ वटाको प्रक्रिया सुरु भएको छ । मन्त्री श्रेष्ठले तेस्रो लहरबाट जोगिन सबै सचेत हुनुपर्ने बताए ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com