३ सय शय्याको सरुवा रोग अस्पताल बनाउन टेकुमै जग्गा फालाफाल, कति छ शुक्रराज अस्पतालको जग्गा ?


काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३ सय शय्यामा विस्तार गर्न अस्पताल परिसर टेकुमै प्रयाप्त जग्गा रहेको पाइएको छ । ३ सय शय्याको सरुवा रोग अस्पताल बनाउने भनेपछि भूमाफियाहरु सलबलाएर बाहिर लान खोजेका थिए । तर स्वास्थ्य लाइभको खोजमा हाल रहेको अस्पताल परिसर टेकुमै पुग्दो जग्गा फेला परेको हो ।
सरकारले ०७७÷०७८ को वार्षिक कार्यक्रममार्फत ३ शय्याको सुविधासम्पन्न सरुवारोग अस्पताल बनाउने निर्णय गरेको थियो । भक्तपुरका एमाले संसद महेश बस्नेतले भूमाफियासँग मिलेर भक्तपुरमा सरूवा रोग अस्पताल लान चलखेल गरेका थिए । उनले जग्गा खोज्न गिरोह नै परिचालन गरेर भक्तपुरमा लान शक्ति केन्द्रबाटै डिजाइन गरेको स्वास्थ्य मन्त्रालय उच्च स्रोत बताउँछ ।

स्वास्थ्य राज्यमन्त्रीको रुपम उमेश श्रेष्ठ आएपछि टेकुमै ३ सय शय्याको सरूव रोग अस्पताल बनाउन निर्देशन दिए । उनले टेकु परिसरको स्थलगत अध्ययन गरेर अस्पताल विस्तार गर्न प्रयाप्त जग्गा रहेको निष्कर्ष निकाले । राज्यमन्त्री श्रेष्ठले टेकुमै ३ सय शय्याको सरुवा रोग अस्पताल विस्तार तथा निर्माण गर्ने रोडम्याप तयार गरेसँगै भूमाफियाहरुको योजना तुहिएको छ ।

 

राज्यमन्त्री श्रेष्ठको रोडम्याप र अस्पताल निर्देशक अनुप बाँस्तोला, प्रशासन प्रमुख नवराज गौतम, इमजेन्सी विभाग प्रमुख लिलानाथ भण्डारी लगायत अस्पतालका सबै कर्मचारीको  टेकुमै अस्पताल बनाउने दृढतासँगै देशको एकमात्रै सरुवा रोग अस्पताल टेकुको जग्गा कति हो, सबैमा चासोको विषय बनेको छ ।

हाल अस्पताल भएको स्थान साँघुरो भएपछि सरकारले फरारिलो ठाउँमा जग्गा खोजेर ३ सय शय्याको केन्द्रीय सरुवारोग अस्पताल बनाउने निर्णय गरेको थियो । तर, कसैले पनि टेकु अस्पतालको आफ्नो जग्गा कति हो भनेर खोजेको थिएन ।

अस्पतालका सूचना अधिकारी नवराज गौतमकाअनुसार सुरुमा नागढुंगा, कुष्ठरोग पुनस्र्थापना केन्द्र आसपास, दक्षिणकाली स्वाथ्य केन्द्र नजिक र चोभारमा अस्पतालका लागि जग्गा हेरिएको थियो । तर, अहिलेको अस्पताल नेतृत्वले टेकुमा आफ्नै जग्गा खोजेपछि प्रयाप्त जग्गा फेला परेको छ । अस्पताल निर्देशक डा. बाँस्तोलाले टेकुमै सम्भव छ भन्ने कुरालाई जोडतोडका साथ उठाएपछि सरूवा रोग अस्पताल त्यहिँ बनाउने तयारी भएको छ ।

नापी बिभागबाट प्राप्त नक्सामा टेकु अस्पतालको जग्गाभित्र स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बसेको पाइएपछि सोही ठाउँको व्यवस्थापन गरी सरुवारोग अस्पताल बनाउने प्रक्रिया अगाडि बढेको हो । भूमाफियाहरुले सरुवारोग अस्पताल बनाउँन विभिन्न ठाउँमा जग्गा खोजेर लैजान दवाव दिएका थिए । अहिले पनि उच्च तहमा दवाव दिने क्रम जारी छ । राज्यमन्त्री श्रेष्ठ टेकुमै ३ सय शय्याको अस्पताल बनाउन कस्सिएर लागेपछि भूमाफियाको दवावको कुनै प्रभाव पर्न सकेको छैन ।

स्वास्थ्य लाइभलाई प्राप्त विवरणअनुसार शुक्रराज अस्पतालको नाममा ७० रोपनी १ आना जग्गा देखिएको छ । तर, १६ रोपनी २ आनामा मात्र अहिलेको अस्पताल सञ्चालनमा रहेको देखिन्छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नती मापदण्डसम्बन्धी निर्देशिका, २०७० अनुसार ३ शय्याको अस्पताल सञ्चालन गर्न कम्तिमा पनि ३२.४८ रोपनी जग्गा आवश्यक पर्छ ।

स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माण सम्बन्धी निर्देशिका २०७३ को विशेष व्यवस्थाअनुसार निर्माणस्थल वस्तीको मध्य भागमा वा बजार केन्द्रमा अवस्थित रही बाटोसमेतमा जोडिएको भए तोकिएको न्यूनतम क्षेत्रफलमा सोको २० प्रतिशत सम्म कम भएपनि उक्त जग्गालाई नै छनोटका लागि प्राथमिकता दिन सकिने प्रावधान रहेको हुँदा ३ सय शय्याको सरुवा रोग अस्पताल बनाउन २६ रोपनी जग्गा भए पुग्ने देखिएको छ । तर, ७० रोपनी भन्दा बढी शुक्रराज अस्पतालको नाममा जग्गा भएकाले ३ सय शय्याको अस्पताल बनाउन फालाफल जग्गा भएको छ ।

हाल सञ्चालनमा रहेको जग्गामा थप १० रोपनी जग्गा उत्तर दिशामा सञ्चालित आर्थिक प्रशासन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भवनहरु रहेको र स्वास्थ्य सेवा विभागको प्रस्तावित हेल्थ प्लाजा भवन निर्माण भए पश्चात पश्चिम दिशामा संचालित स्वास्थ्य सेवा विभागको महानिर्देशकको कार्यालय रहेको भवन प्रयोग गरी पुरÞ्याउन सकिने देखिएको छ । आर्थिक प्रशासनको भवन र इडिसिडीको भवन पहिला टेकु अस्पताल कै अधिनमा थियो । त्यो ठाउँमा नयाँ भवन बनाउने रोडम्याप तयार भएको छ ।

 

हेल्थ प्लाजा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नयाँ डिजाइन

सूचना अधिकारी गौतमकाअनुसार टेकुको जग्गामा हेल्थ प्लाजा, एनपिएचएल र शुक्रराज अस्पताल बनाइने छ । ८ वर्षे योजना बनाएर तीन फेजमा काम सक्ने योजनासहित अहिले काम अगाडि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डिजाइन भवन विभागले स्वास्थ्य मन्त्रालयमा स्वीकृतिका लागि पठाएको छ । ५ महिनाभित्र टेन्डर गर्नेगरी काम अगाडि बढेको छ ।
शुक्रराजको इतिहास

बि.स. १९९० सालमा ‘डाइरेक्टर अफ मेडिकल सर्विसेज’ अन्तर्गत हाल रोपवे टर्मिनल रहेको टेकुस्थित एक पाटी कलेरा अस्पतालको स्थापना भएको हो । सार्वजनिक पाटीको ओत लागेर भए पनि सीमित संख्याका जनतालाई आफ्नो सेवा पुर्याउदै आएको सो अस्पतालले २००७ सालमा पाटीबाट सरेर नयाँ बनाइएको भवनबाट सेवा दिन थालेको हो । २०१९ सालमा यस अस्पतालको जिर्णोद्धार भई यो अस्पताल अन्तर्गत ‘सरुवा रोग यूनिट’ को नामबाट स्वास्थ्य उपचार क्षेत्रमा संलग्न भयो ।

सरुवा रोगको नियन्त्रणमा प्रभावकारितालाई दृष्टिगत गरी सरुवा रोग यूनिट विस्तार गर्ने क्रममा २०२७ सालमा आवश्यक जग्गा अधिकरण गरी २०३१ सालमा अस्पताल भवन निमार्ण कार्य प्रारम्भ भई वि.स. २०३४ सालमा वीर अस्पतालको मातहतबाट अलग गरी स्वतन्त्र अस्तित्व भएको अस्पतालको रुपमा यसले सेवा प्रवाह ग¥यो र यसको नामाकरण ‘सरुवा रोग अस्पताल’ गरिएको हो । अब यसै ठाउँमा ३ सय शय्याको उत्याधुनिक र सुविधासम्पन्न अस्पताल बनाउने तयारी थालिएको छ । टेकुमै शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले नयाँ जीवन पाउनेवाला छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com