बीपीका उपकुलपति गिरीले प्रधानमन्त्री पत्नी मिलाएकै हुन् ?

अख्तियारको छानविन अन्तिम चरणमा


काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी अहिले काठमाडौंमा छन् ।  लाजिम्पाटको र्याडिसन होटलसँगै रहेको मनास्लु होटलमा बस्ने गरेका उपकुलपति गिरी पत्रकार सम्मेलनको तयारीमा छन् । उनले खुलेआम रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा राणालाई मिलाएको दावी गर्न थालेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपकुलपति डा. गिरीलाई प्राध्यापकको उपाधि पाएको प्रमाण पेश गर्न निर्देशन दिएको थियो तर उनले त्यसको प्रमाण मन्त्रालयमा पेश गरेनन् । यो आधारमा सिनेट बोलाएर तत्काल कारबाही गर्नुपर्नेमा कारबाही पक्रिया शुरू भइसकेको विज्ञप्ति निकाल्ने स्वास्थ्य मन्त्रालयले अहिलेसम्म कारवाही पक्रियामै अल्झाइदिएको देखिन्छ । उल्टै उपकुलपति गिरी प्रधानमन्त्री पत्नी मिलाइसकेको भन्दै आफूलाई कसैले छुन नसक्ने दावी गर्न थालेका छन् ।

हेर्नुहोस् स्वास्थ्यको विज्ञप्ति 

प्रध्यापकको उपाधि पाएको झूटा विवरण पेश गर्ने  गिरीलाई जोगाउन प्रधानमन्त्री पत्नी आरजुलाई दिज्यू भन्ने  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीदेखि कांग्रेस नेतृ विन्दीया कार्कीसम्म लागेको चर्चा छ ।

प्राध्यापकको नक्कली सर्टिफिकेट लिएर बीपीको उपकुलपतिको कुर्सी हत्याएका डा. ज्ञानेन्द्र गिरीको राजीनामा मागसहित निजको कार्यकक्ष तालाबन्दी भएको आज १०१ दिन भएको छ ।

युनिभर्सिटी अफ क्लोराडोबाट प्राध्यापक उपाधी लिएको सार्वजनिक अभिव्यक्ति दिएका डा. गिरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बनाएको छानविन समितिलाई पेश गरेको सर्टिफिकेट भने विराटनगर अस्पताल, विराटनगरका निर्देशक डा. ज्ञानेन्द्र कार्कीले दिएको प्राध्यापकको सर्टिफिकेट पेश गरेका थिए ।

डा. कार्की आफैं कुनै विश्वविध्यालयका प्राध्यापक होइनन्, विराट अस्पताल कुनै विश्वविद्यालय हुने कुरै भएन, तर पनि डा. कार्कीले आफ्ना व्यवसायिक साझेदारलाई प्राध्यापक बनाइदिए । “विश्वमै यसरी प्राध्यापक हुने सायद पहिलो व्यक्तिमा हाम्रो उपकुलपति पर्नुहुन्छ, स्वास्थ्य मन्त्रालयले आधिकारिक विज्ञप्तिमै उहाँको उपाधिलाई फर्जी भनिसक्यो, उहाँले समेत प्राध्यापक लेखेर आफूले फर्जी कार्य गरेको प्रमाणित गरिसक्नु भयो, तर आजका मितिसम्म कारबाही नहुनु आश्चर्य छ” , प्रतिष्ठानमा जारी शुद्धिकरण आन्दोलनका सह- संयोजक डा. बिष्णु पोखरेलले भने ।

यसैबीच उपकुलपति गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल र अस्पताल निर्देशक डा. गौरीशंकर शाह विगत एक हप्तादेखि संघीय राजधानी काठमाडौंमा बसेर आ-आफ्नो कुर्सी जोगाउन राजनैतिक भेटघाट गरिरहेका छन् । उपकुलपति गिरीले, राप्तीकी उपकुलपति डा. संगिता भण्डारी, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल र प्रदेश न. १ की प्रदेशसभा सदस्य (सांसद) विन्दिया कार्कीमार्फत प्रधानमन्त्री पत्नी आरजु देउवा लाइन मिलाएको स्रोतको दावी छ ।

देउवासँग गेरू बस्त्रधारी सांसद कार्की

“विराटनगरको २ कठ्ठा जग्गा बिक्री गरेर तथा २ अर्ब ७८ करोडको विवादास्पद मातृशिशु भवनका ठेकेदार मोहन आचार्यलाई ५६ करोड भुक्तानी गरेबापतको कमिसनको प्रलोभन देखाएर पद जोगाउन भिडेका गिरीले विन्दिया कार्कीमार्फत बालुवाटारमा राम्रै नजराना प्रस्ताव गरेको विराटनगरका एक कांग्रेसी नेताले स्वास्थ्य लाइभलाई बताए । उनले भने, “सम्भवत: आज वा भोली  प्रधानमन्त्री भेट्ने र रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर आन्दोलनकारीलाई कारवाही शुरु गर्ने उपकुलपति गिरीको सोच छ । “

उपकुलपति गिरीले पदीय मर्यादा नाघेर सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरेको तथ्य स्वास्थ्य लाइभले सार्वजनिक गरिसकेको छ । उनी सार्वजनिक ठाउँमै महिला र मदिरामा लठ्ठ परेको फोटो स्वास्थ्य लाइभले फेला पारेको हो । पदीय आचरणविपरीत क्रियाकलाप गरेको आरोपमा पनि उपकुलति गिरीलाई हटाउनु पर्ने अवस्था देखिन्छ ।

उपकुलपति गिरीलाई साथ दिंदै आएका शिक्षाध्यक्ष खनाल र अस्पताल निर्देशक शाहसमेत राजनैतिक चलखेलमा लागेका छन् । शिक्षाध्यक्ष खनाल आफू कार्यवाहक उपकुलपति हुँदा तत्कालीन डेपुटी अस्पताल निर्देशक दिलीप ठाकुरलाई प्रयोग गरेर आफ्नी छोरीलाई एमवीवीएस प्रवेश परीक्षामा प्रश्नपत्र लिएर उतीर्ण गराएको तथा ठाकुरसँग मिलेर अस्पताल सामग्री खरिद तथा भवन निर्माणमा करोडौं कुम्ल्याएको निजलाई आरोप छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यो विषयमा विस्तृत छानविन गर्ने तयारी थालेको छ । अख्तियार उच्च स्रोतकाअनुसार छानविन टोलीले खरिदमा खनाल र ठाकुरको मिलेमतोमा अनियमितता भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

त्यसैगरी अस्पताल निर्देशक शाहलाई करोडौंको टुक्रे खरिद गरेर लाखौँ कमिसन खाएको आरोप छ । यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानको अनियमितता छानविनलाई अन्तिम रुप दिन लागेको छ । अख्तियार श्रोतका अनुसार प्रतिष्ठानमा व्यापक अनियमितता देखिएको छ र अनियमिततामा पदाधिकारीका अतिरिक्त वर्षौंदेखि प्रतिष्ठानको खरिद, स्टोर, लेखा र बायोमेडिकल शाखा कब्जा गरेर बसेका सागर ताम्राकार, कमल रायमाझी, सुनम दाहाल, राहुल मिश्रलगायतलाई विशेष अदालतमा मुद्दा दायर गर्ने अन्तिम तयारी भइरहेको छ ।

बीपीका यी चारैजना पदाधिकारीहरू प्रतिष्ठानको सेवा प्रवेश गर्दा हात्तीछाप चप्पलमा छिरेका तर आजको मितिमा करोडोका कारोबारी भएको प्रतिष्ठान श्रोत बताउँछ । यती धेरै विवादमा रहेका बीपीका उपकुलपतिसहितका पदाधिकारी अहिले राजनीतिक शक्ति केन्द्र धाएर कारबाहीबाट जोगिने र पद जोगाउने चलखेल गरिरहेको छ ।

राप्तीकी उपकुलपति भण्डारीको आरजुसँगको सम्बन्ध, कांग्रेसका नेता, नेतृ दुरूपयोग गरेर प्रधानमन्त्रीसँग कुरा मिलाउने प्रयासमा बीपीका उपकुलपति गिरी दौडधुमा छन् । उनको फूर्ति र धम्कीले पनि त्यसको पुष्टि गर्छ।

सरकारी छानविन टोली र स्वास्थ्य मन्त्रालयलेसमेत गिरीको बदमासी पत्ता लगाइसकेपछि कारबाही नहुनुले गिरीको प्रधानमन्त्री पत्नी मिलाइसकेको दावीले थप आशंका जन्माएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com