विकलसँगै भ्रष्टाचारी ठहर भएका म्याक्सका अकबर हुसेन सुनिलसँग पनि जोडिए

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईटी माफिया सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिद गरेको सफ्टवेयरमा भ्रष्टाचार भएको भन्दै अख्तियारले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उक्त भ्रष्टाचार मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेल जानकारी दिए। उक्त भ्रष्टाचार मुद्दामा म्याक्स इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेन र कम्पनीविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट आर्थिक वर्ष ०७५/०७६ मा खरिद गरिएका मुख्य उपकरणको प्राविधि विवरणहरू अनलाइनमा प्राप्त विवरणसँग मिल्न गएको र अनलाइनमा उल्लिखित मूल्यसूचीभन्दा बढीमा खरिद गरेको पाइएको उजुरीका सम्बन्धमा अनुसन्धान गरी मुद्दा दायर गरिएको हो। अख्तियारले सुनिल र अकवरसहितका प्रतिवादीविरुद्ध जनही ५ करोड ७९ लाख बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेश प्रसाद पोखरेल भन्ने रमेश पोख्रेल र कम्प्युटर इन्जिनियर रामशरण गायक,अधिकृत निमबहादुर वलीविरुद्ध पनि मुद्दा दायर गरेको छ।
म्याक्सका मालिक हुसेन यसअघि विकल पौडेलसँगको मुद्दामा भ्रष्टाचारी ठहर भइसकेका छन्। अमेरिकी पीआरधारी आईटी माफिया विकलले सुरक्षण मुद्रण केन्द्रका लागि म्याक्स इन्टरनेसनलसँग झन्डै ४१ करोड उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको विशेष अदालतको ठहर छ। अख्तियारले उपकरण आपूर्तिकर्ता म्याक्स इन्टरनेसनलका मालिक हुसेनलाई समेत भ्रष्टाचारी करार गरेको हो। विशेषले हुसेनलाई १३ करोड ५८ लाख ५२ हजार ५ सय ८० रुपैयाँ जरिवाना र सोहीबराबरको बिगो असुल गर्न भनेको थियो। उनलाई एक महिना अघि मात्र विशेष अदालतले १ वर्ष ६ महिना कैद तोकेको हो।
विकल र सुनिल पौडलसँग मिलेर आईटीका ठेक्कामा सेटिङ गर्ने हुसेन पनि भ्रष्टाचारमा डामिएका हुन्। हुसेनले विकल र सुनिलसँग मिलेर राष्ट्रिय सूचना प्रविधि केन्द्र र सुरक्षण मुद्रण केन्द्रमा आईटीका ठूल्ठूला ठेक्का हत्याएका छन्। विकल र सुनिलले हुसेनसँग मिलेर लिएका हरेक ठेक्कामा घोटाला भएको पाइन्छ। अख्तियारले म्याक्ससँग विकल र सुनिलले गरेका आईटीका खरिद अनुसन्धान गर्ने हो भने प्रत्येक ठेक्कामा भ्रष्टाचार मुद्दा दायर हुने अवस्था आउँछ।
यस्तो छ अख्तियारको प्रेस विज्ञप्ति
——————————————
राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट आ.व.०७५/७६ मा IFB No. NITC/G/NCB-6-075/076, Supply, Delivery and Installation and Commissioning of RISC and HCI Servers खरिद सन्देहपूर्ण रहेको, खरिद गरिएका मुख्य उपकरणहरुको प्राविधिक विवरणहरु अनलाईनमा प्राप्त विवरणहरु (Datasheet) सँग मिल्न गएकोमा यसरी खरिद गरिएका मुख्य उपकरणहरुको मूल्य अनलाईन श्रोतमा प्राप्त हालको मूल्यसूची भन्दा बढी भएको पाइएको भन्ने व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा NITC/G/NCB-6-075/076, Supply, Delivery and Installation and Commissioning of RISC and HCI Servers लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रले रु.२६,२९,५३,३३५।३३ लागत अनुमान तयार गरी पेश भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले सन् २०१९/०६/१९ (वि.स.२०७६।०३।०४) मा उक्त केन्द्रमा पेश गरेको Invoice No. 6124 अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिहंदरवार, काठमाडौँबाट Training and onetime Installation and Configuration at GIDC and DRC शीर्षकको भ्याट बाहेक रु. २,६५,००,०००।–र Three Years warranty with onsite Support शीर्षकको भ्याट बाहेक रु.३,१४,००,०००।–रकम म्याक्स इन्टरनेशनललाई भुक्तानी भएको देखिएको, मिलेमतोमा स्वार्थ बाझिने गरी Training, Installation and Configuration कार्यको लागत अनुमान तयार गरेको, सम्झौता बमोजिमको Warranty Onsite Support को कार्य नै नभएको अवस्थामा समेत कार्य भएको भनी रकम भुक्तानी दिए/लिएको तथ्य स्थापित भएकोले प्रतिवादीहरुले आफूलाई गैरकानूनी लाभ पुर्याउने तथा नेपाल सरकार/सार्वजनिक संस्थालाई हानी पुर्याउने बदनियतले रु.५,७९,००,०००।–बरावरको रकम बढी भुक्तानी लिई दिई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तरगतको निम्न बमोजिमको कसूरजन्य कार्य गरे गराएको हुँदा देहायका प्रतिवादीहरु उपर देहाय बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
राजेन्द्रकुमार पौडेल
क्याटेगोरी : समाचारट्याग : #अकवर हुसेन, #म्याक्स, #म्याक्स इन्टरनेशनल
तपाईको प्रतिक्रिया दिनुहोस