यौनसँगै लागूपदार्थ प्रयोग बढ्दै, जोखिममा युवा समुदाय, सुरक्षित सेवा र कानुनी सुधारको माग


काठमाडौं । नेपालमा यौन सम्पर्कको क्रममा लागूपदार्थ (ड्रग्स) प्रयोग गर्ने प्रवृत्ति तीव्र गतिमा बढ्दो छ। पछिल्लो अध्ययनअनुसार, काठमाडौं उपत्यकामा MSM (पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष) मध्ये ४० प्रतिशतले यौन सम्पर्कअघि या क्रममा कुनै न कुनै प्रकारको लागूपदार्थ प्रयोग गर्ने गरेका छन्। यस्तै, ट्रान्सजेन्डर र पुरुष यौनकर्मीहरू (MSW) मा पनि यस्तो प्रवृत्ति उच्च देखिएको छ।

यो अभ्यास ‘सेक्सुअलाइज्ड ड्रग युज’ (SDU) भनेर चिनिन्छ, जसले एचआइभी, हेपाटाइटिस–सी, यौनजन्य रोगहरू, मानसिक समस्या र सामाजिक कलङ्कको जोखिम बढाउँछ।

हालै गरिएको “Sexualized Drug Use Among Key HIV Populations in Nepal” नामक अध्ययनले देखाए अनुसार SDU गर्नेहरूमध्ये ६५ प्रतिशतले कन्डमको नियमित प्रयोग नगर्ने बताएका छन् । ५० प्रतिशतभन्दा बढीले एकै समयमा एकभन्दा धेरै यौन साझेदार हुने बताएका छन्। ४० प्रतिशतले एम्फेटामिन, मेथ, ट्रामाडोल, पपर्स वा MDMA जस्ता उत्तेजक लागूपदार्थ प्रयोग गरेको बताएका छन्।

यी जोखिमहरूलाई सम्बोधन गर्न BDS र RN संस्थाहरूले काठमाडौं, वीरगञ्ज, रुपन्दही, कास्कीलगायत पाँच जिल्लामा सामुदायिक ड्रप–इन सेन्टर (DIC) सञ्चालन गरिरहेका छन्। तीन महिनाको अवधिमा मात्र काठमाडौंको DIC मा २५० जनाले स्वास्थ्य, परामर्श वा परीक्षण सेवा लिएका छन्।

जेठ २८ र २९ गते रोग नियन्त्रण महाशाखा (EDCD) को सहकार्यमा काठमाडौंमा पहिलो पटक मानसिक स्वास्थ्यकर्मीहरूलाई SDU सम्बन्धी तालिम दिइएकाे थियाे । तालिममा ५ वटा अस्पतालका २५ भन्दा बढी विशेषज्ञ सहभागी थिए।

स्वास्थ्य विशेषज्ञहरू भन्छन्, अबको रणनीति नीतिगत परिवर्तन, समुदायमैत्री सेवा विस्तार, र लागूपदार्थ प्रयोगकर्ताहरूलाई अपराधी होइन, सेवाको अधिकार प्राप्त नागरिकको रूपमा हेर्ने हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ