पुनर्स्थापना केन्द्रहरूलाई प्रभावकारी बनाउन हेटौंडामा विशेष तालिम


हेटौंडा । लागुऔषध प्रयोगकर्ताहरूको प्रभावकारी पुनर्स्थापनामा केन्द्रित गर्दै बागमती प्रदेशका पुनर्स्थापना केन्द्र सञ्चालकहरूका लागि हेटौंडामा तीनदिने मनोपरामर्श तालिम सम्पन्न भएको छ। तालिम बागमती प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामला तथा कानुन मन्त्रालयको सहयोगमा तथा रिकभरिङ नेपालको आयोजनामा जेठ २७ देखि २९ गतेसम्म सञ्चालन भएको हो।

तालिमको उद्देश्य पुनर्स्थापना केन्द्रहरूको सेवा प्रभावकारिता बढाउने, मानसिक स्वास्थ्य तथा परामर्श सम्बन्धी सीप विकास गर्ने तथा प्रयोगकर्ताहरूको पुनर्स्थापनामा थप नतिजामूलक काम गर्न सक्षम बनाउने रहेको आयोजकले जनाएका छन्।

तालिम उद्घाटन बागमती प्रदेश सरकारका आन्तरिक मामला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ र छिरिङ दोर्जे लामा, मन्त्रालयका सचिव कृष्णबहादुर शाही, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, रिकभरिङ नेपालका केन्द्रीय उपाध्यक्ष ध्रुव केसी, केन्द्रीय सदस्य सन्दीप शाक्य, प्रदेश उपाध्यक्ष किरण गुरुङ, गैसस मकवानपुर अध्यक्ष रमिला सापकोटा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता रिकभरिङ नेपाल बागमती प्रदेश अध्यक्ष दिवाकर राज श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन केन्द्रीय सदस्य सौजन डीसीले गर्नुभएको थियो। स्वागत मन्तव्य तालिमका प्रमुख प्रशिक्षक मधुसुदन सिजापतीले दिनुभएको थियो।

तीन दिनसम्म चलेको उक्त तालिममा बागमती प्रदेशभरिका करिब ५० जना पुनर्स्थापना केन्द्र सञ्चालकहरूले सहभागिता जनाएका थिए। तालिमले उनीहरूमा व्यवहारिक मनोपरामर्श सिपको विकास गरी केन्द्रमा आउने सेवाग्राहीहरूलाई थप प्रभावकारी सेवा दिन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ