यी हुन् काठमाडौं महानगरभित्र मृत्युपश्चात पनि समाजिक सुरक्षा भत्ता पाउनेहरू

काठमाडौं। काठमाडौं महानगरपालिभित्र मृत्युपछि पनि समाजिक सुरक्षा भत्ता वितरण भइरहेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले नमूना छनौट गरेर लेखापरीक्षण गर्दा मृत्यु भएकालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको हो। यस्तो सामाजिक सुरक्षा भत्ता वितरणमा वडा कार्यालयको मुख्य भूमिका हुन्छ।
महालेखापरीक्षकको कार्यालय लेखापरीक्षणका क्रममा नमूना छनौट गरी परीक्षण गर्दा वडा नम्बर १ मा मोतिहिरा तुलाधर, श्यामबहादुर खड्गी र धनकुमारी मानन्धरको नाममा मृत्यु भएपछि सामाजिक सुरक्षा भत्ता गएको फेला परेको छ।
वडा नम्बर २ मा हरिदेवी महर्जन, वडा नम्बर ३ मा मिठू मगर, महेन्द्रजंग रायामाझी क्षेत्री, सन्तुमाया महर्जन, श्यामबहादुर श्रेष्ठ, राधादेवी अधिकारी, दावा डोल्मा लामा, विष्णुलाल श्रेष्ठ र मीनबहादुर मगरको नाममा मृत्युपश्चात पनि सामाजिक सुरक्षा गएको महालेखाले औंल्याएको हो।
त्यस्तै वडा नम्बर ४ मा मनोरमा कुमारी राना, वडा नम्बर ८ मा लक्ष्मीप्रसाद भट्टराई, वडा नम्बर १० मा भगवती खनाल, गजेन्द्रबहादुर थापा र रमेशचन्द्र शर्माको नाममा मृत्युपश्चात पनि सामाजिक सुरक्षा गएको फेला परेको हो।
वडा नम्बर १३ मा अणराज पाठक, ज्ञान शोभा शाक्य, बद्रीकृष्ण मानन्धर र नारायणी केसीको नाममा मृत्यु भएपछि सामाजिक सुरक्षा भत्ता निकासा भएको पाइन्छ। वडा नम्बर १५ मा ज्ञानमाया महर्जनको नाममा मृत्यु पश्चात भएपनि सामाजिक सुरक्षा भत्ता निकासा भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
महालेखापरीक्षकको कार्यालयले नमूना छनौट गरेर वडा नम्बर १, २, ३, ४, ८, १०, १३ र १५ मा परीक्षण गर्दा २ लाख ३ हजार ५९१ रूपैयाँ मृतकको नाममा सामाजिक सुरक्षा भत्ता निकासा भएको फेला परेको हो। महानगरपालिकाभित्र मृत्यु भएपछि पनि सामाजिक सुरक्षा भत्ता मृतकको खातामा निकासा हुने क्रम जारी रहेको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस