सहसचिवको दरबन्दीमा गएका उपसचिव सिडिओ हटे, उपसचिव प्रमुख प्रशासकीय अधिकृत हटेनन् 


काठमाडौं। गृह मन्त्रालय सहसचिवको दरबन्दीमा गएका उपसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरू हटाएको छ। गृह मन्त्रालयले सहसचिवको दरबन्दी रहेका डडेल्धुरा, बैतडी, डोटी, सल्यान, जुम्ला उपसचिव सिडिओलाई हटाएर सहसचिव सिडिओ खटाएको हो। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको दरबन्दीमा रहेका उपसचिव प्रमुख प्रशासकीय अधिकृत हटाउन सकेको छैन। अख्तियार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशनको बेवास्ता गर्दै सामान्य प्रशासन मन्त्रालयले सहसचिवको दरबन्दीमा रहेका उपसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृत नहटाएको हो।

गृह मन्त्रालयले सहसचिवको दरबन्दी रहेको डडेल्धुरामा उपसचिव चोमेन्द्र न्यौपाने, जुम्लामा उपसचिव रामबहादुर शाही, डोटीको उपसचिव मोहनराज जोशी र बैतडीको उपसचिव दिर्घराज उपाध्याय र सल्यानमा सावित्रा पुन प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका थिए। उनीहरूलाई हटाएर उक्त जिल्लाहरूमा सहसचिवलाई सिडिओ पठाइएको छ। तर, सामान्य प्रशासन मन्त्रालयले धरान, इटहरीदेखि धनगढी उपमहानगरपालिकासम्म रहेका उपसचिव प्रमुख प्रशासकीय अधिकृत नहटाएको हो। अझ वीरगञ्ज महानगरपालिकामा समेत उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको दरबन्दी रहेका ११ वटा उपमहानगरपालिकामध्ये ९ वटामा उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ। उपमहानगरपालिकामा सहसचिव जान र पठाउन सकिँदैन भने संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गरेर सहसचिवको दरबन्दी कटौती गरिदिए हुन्छ। तर, सहसचिवको दरबन्दी राखेर बढुवा र भर्ना गर्ने र उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने कार्य बेइमानी र कुशासनको पराकाष्ठा हो।

सहसचिवको दरबन्दी रहेको धरान उपमहानगरपालिका उपसचिव अम्बिकाप्रसाद चौलागाईं प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा छन्। इटहरी उपमहानगरपालिकाका पनि उपसचिव मिनबहादुर भट्टराई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा पनि उपसचिव मित्रलाल ढकाललाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको पाइन्छ। बाराको कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उपसचिव नाथु रहेका छन्। बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उपसचिव मित्रमणि ढकाल हुन्।

दाङको तुलसीपुर र घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि उपसचिव कै रजगज चलिरहेको छ। तुलसीपुरमा उपसचिव केशवराज पार्धे र घोराही उपमहानगरपालिकामा ऋषिराम केसी प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा छन्। नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत उपसचिव रामहरि शर्मा हुन्। धनगढी उपमहानगरपालिकामा पनि लामो समयदेखि उपसचिव नरेन्द्रबहादुर खाती प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा छन्।

उपमहानगरपालिकामा मात्र होइन वीरगञ्ज महानगरपालिकामा पनि सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृत खटाउन नसकेर उपसचिव अरविन्द लाल कर्णलाई जिम्मेवारी दिइएको छ।

सहसचिव जानै नमान्ने उपमहानगरपालिकामा सहसचिवको दरबन्दी औचित्यपूर्ण देखिँदैन। उपमहानगरपालिकाको दरबन्दीमा थपिएका सहसचिवहरू मन्त्रालयका बरण्डामा थुप्रिएका छन्। यस्तो बेथिति रोक्न पनि उपमहानगरपालिकामा तत्काल सहसचिवको दरबन्दी कटौती गर्नुको विकल्प छैन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि तत्काल उपसचिव प्रमुख प्रशासकीय अधिकृत हटाएर उक्त ठाउँमा सहसचिव पठाउन जरूरी छ। प्रधानमन्त्री कार्यालयले गृहलाई लिने ‘एक्सन’ सामान्यमा पनि लिनुपर्ने देखिन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ