जलहरी काण्डमा सफाइ पाएका डा. थापा शवदाह उपकरणमा डामिए

काठमाडौं। पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा दायर भएको भ्रष्टाचार मुद्दामा सफाइ पाएका पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापा फेरि भ्रष्टाचारमा डामिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरी काण्डमा दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएर सदस्यसचिवको भूमिकामा फर्किएका थिए। विद्युतीय शवदाह उपकरण खरिदमा अख्तियारले सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्ररष्टाचार मुद्दा दायर गरेको हो।
१० करोड बढीको विद्युतीय शवदाह उपकरणमा १ करोड ८२ लाख रुपैयाँ बिगो कायम गरेर सदस्यसचिव थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। २ महिना मात्र जागिर बाँकी भएका थापा निलम्बनमा परेका छन्। ‘कात्रोमा कमिसन’ खाएको भनेर थापालगायत सर्वत्र आलोचना सुरू भएको छ।
एक वर्ष अघि मात्र विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठले सफाइ दिएका थापा फेरि दोस्रो मुद्दा खेप्न विशेष अदालत जाने भएका हुन्। भ्रष्टाचार मुद्दा दायर भएर पटकपटक निलम्बनमा परेका थापा राम्रोसँग काम नै नगरी कोषबाट बाहिरिने भएका छन्।
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा दायर भएको भ्रष्टाचार मुद्दामा अख्तियारले थापाविरुद्ध १ करोड १७ लाख रुपैयाँको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। शवदाह उपकरणमा १ करोड ८२ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर भएको हो। भ्रष्टाचार मुद्दा थपिँदै जाँदा थापाको बिगो पनि बढ्दो अवस्थामा देखिन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस