स्वास्थ्य मन्त्रालयमा मन्त्रीसहित व्यापक हेरफेरको तयारी, जीवन परियार मन्त्री र केशरबहादुर ढकाल महानिर्देशक बन्ने सम्भावना बलियो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा छिट्टै नेतृत्व तहमा व्यापक हेरफेर हुने भएको छ। हालका मन्त्री प्रदीप पौडेलको स्थानमा जीवन परियारलाई ल्याउने तयारी भइरहेको छ भने स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. केशरबहादुर ढकाल नियुक्त हुने सम्भावना बलियो देखिएको छ।
स्वास्थ्य मन्त्री पौडेल हाल विदेश भ्रमणमा छन्। सिंहदरबार स्रोतका अनुसार उनी स्वदेश फर्किएपछि मन्त्री परिवर्तनदेखि लिएर विभागीय नेतृत्व र प्रशासनिक संरचनामा ठूला फेरबदल अघि बढाइनेछ। मन्त्रालय र मातहतका निकायमा कार्यसम्पादन कमजोर भएको मूल्याङ्कन गर्दै स्वास्थ्य सचिव विकास देवकोटा स्वयं हेरफेरको पहलमा सक्रिय देखिएका छन्।
पौडेलको नेतृत्वमा जनस्वास्थ्य सेवाको प्रभावकारिता घट्दै गएको भन्दै आम जनतामा निराशा बढेको छ। पुराना मन्त्रीले थालनी गरेका योजनालाई मात्र निरन्तरता दिइएको तर नयाँ कुनै ठोस काम नभएको भन्ने आलोचना मन्त्रालयभित्रै उठ्न थालेको छ। “हल्ला धेरै, काम केही होइन” भन्ने टिप्पणीसमेत मन्त्रालयभित्र सुन्न सकिन्छ।
हालै १२औं तहमा पदोन्नति भएका डा. केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठमध्ये एकजनालाई स्वास्थ्य सेवा विभागको नेतृत्वमा ल्याउने तयारी भएको छ। तर डा. श्रेष्ठ उपकुलपति बन्ने दौडमा लागेकाले ढकाललाई महानिर्देशक बनाउने सम्भावना बढी रहेको स्रोत बताउँछ। नेपाली कांग्रेसका वरिष्ठ नेता पूर्णबहादुर खड्का निकट मानिने ढकाललाई विभागीय नेतृत्वका लागि राजनीतिक समर्थन पनि प्राप्त भएको चर्चा छ। स्वास्थ्य मन्त्रालयमा हुन लागेको यो हेरफेरले नेतृत्व, नीति र सेवाप्रवाहमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस