शिक्षातिरका रामचरित्रलाई विराटनगरको प्रमुख प्रशासकीय अधिकृत बनाउने निर्णय सच्चाइयो, दुलाल जाने भए

काठमाडौं। प्रशासन सेवाका बग्रेल्ती सहसचिव हुँदाहुँदै सरकारले शिक्षातिरका रामचरित्र मेहतालाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय गरियो। इटहरी उपमहानगरपालिकामा बसेर अहिलेसम्म पनि आर्थिक हिसाबले उठ्न नसक्ने गरी छाडेका मेहतालाई विराटनगर महानगरपालिकामा हाजिर गराइएन। सेवा समूह नै नमिल्ने मेहतालाई हाजिर नगराइएको भनेर प्रश्न समेत उठ्यो। अन्ततः मेहताको सरूवा ‘बदर’ गर्दै योगेन्द्रप्रसाद दुलाललाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ।
मेहतालाई उनी कार्यरत रहेकै युवा तथा खेलकुद मन्त्रालयमा कागजी सरूवा गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जग्गा प्रशासन महाशाखा हेर्ने सहसचिव दुलाललाई विराटनगरको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको हो।मेहतालाई सरकारले चार महिना अघि विराटनगरको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने निर्णय गरेको थियो। निर्णय कार्यान्वय नहुने अवस्था देखेपछि उनलाई कागजी सरूवा गरेर युवा तथा खेलकुद मन्त्रालय नै कायम गरिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह (बरण्डा) प्रशासन सेवाका आधा दर्जन बढी सहसचिव राखेर शिक्षा सेवाका सहसचिव मेहतालाई प्रशासन सेवाको दरबन्दीमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको थियो। उक्त कदमले मुख्यसचिव एकनारायण अर्यालको सुशासनको हावा खुस्काइदिएको टिप्पणी हुँदै आएको थियो। चार महिनापछि आएर सरकारले बल्ल सेवा समूह मिल्ने सहसचिव दुलाललाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको हो।
उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएकै बैठकबाट प्रशासनको दरबन्दी भएको ठाउँमा शिक्षाको सहसचिव मेहतालाई पठाउने स्वीकृति प्रदान भएको थियो। उक्त निर्णयले हालै गठन भएको आयोगलाई समेत गिज्याइरहेको थियो। बल्लतल्ल सरकारले गलत निर्णय सच्याएको छ। यस्तै विकृति रहने हो भने भोलि कानुन समूहका सहसचिव सिडिओ बनेर दिन नआउँला भन्न सकिन्न।
क्याटेगोरी : समाचारट्याग : #योगेन्द्रप्रसाद दुलाल, #रामचरित्र मेहता
तपाईको प्रतिक्रिया दिनुहोस