मेसु राईलाई कुट्ने खेमराज थापा ५ दिन जेल जाने भए

काठमाडौं। तिहारको समयमा सुनसरी जिल्ला अस्पताल इनरूवाका मेसु सन्तोष राईलाई हातपात गर्ने खेमराज थापालाई ५ दिनको कैद सजाय भएको छ। सुनसरी जिल्ला अदालतले उनलाई ५ दिन कैद र ८० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ।
जिल्ला न्यायाधीश दुर्गा बस्यालको इजलासले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ को दफा ३(ग) बमोजिम कसुर गरेको ठहर गरेको थियो। गत २६ गते गरेको फैसलाको सजाय निर्धारण गर्दै उनलाई ५ दिन कैद र ८० हजार सजाय हुने ठहर गरेको हो।
गत २०८१ कार्तिक ३ गते जिल्ला अस्पताल सुनसरी इनरूवाका मेसु डाक्टर सन्ताेष राइलाई ड्युटीमै रहेका बेला थापाले कुटपिट गरेका थिए। जिल्ला अदालत एक वर्षपछि फैसला गर्दै उनलाई ५ दिन थुन्न निर्णय सुनाएको हो। प्रहरीले सक्रियता देखाउने हो भने उनको तिहार जेलमै (मामाघर) बित्ने देखिन्छ।
नेपाली कांग्रेसका इनरुवा नगर सचिव रहेका थापाका तर्फबाट वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरे, हेमराज पोखरेल, मणि दुलाल, प्रकाश पोखरेल लगायतले बहस गरेका थिए। जाहेरवाला डा. राईका तर्फबाट भने युवा अधिवक्ता बसन्त सुवेदीले बहस गरेका थिए। महँगा र वरिष्ठ वकिल लगाएर मुद्दा प्रभावित बनाउन खोजेका थापाको जेलको बास हुने भएको छ।
खेमराजका दाजु इनरूवा नगरपालिकाका वडाध्यक्ष सुमन थापा पनि गाडीले मान्छेलाई हानेर फरार भएका छन्। उनी प्रहरी प्रशासन कै संरक्षणमा रहेको पीडित परिवारको आरोप छ। वडा चलाउन कार्यवाहकको जिम्मेवारी दिएर दाइ सुमन लापत्ता छन्। भाइ खेमराज पनि तिहारको बेला मामाघर जाने भएका हुन्।
क्याटेगोरी : समाचारट्याग : #खेमराज थापा, #डा. सन्तोष राई जिल्ला अस्पताल सुनसरी मेसु
तपाईको प्रतिक्रिया दिनुहोस