रामगोविन्दले राजीनामा दिँदा आईटीको सहसचिवमा रामदत्तको चम्कियो भाग्य
काठमाडौं। सूचना प्रविधि विज्ञ (आईटी)का सहसचिव रामगोविन्द अर्यालले राजीनामा दिँदा रामदत्त भट्टको भाग्य चम्किएको छ। लोक सेवा आयोगले राजीनामा दिएर हिँडेका रामगोविन्दको ठाउँमा रामदत्तको नाम सिफारिस गरेको हो। लोक सेवा आयोगले बैकल्पिक सूचीमा रहेका रामदत्तको नाम आईटीको सहसचिवका लागि सिफारिस गरेको हो। लोक सेवा आयोगको सिफारिस बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले रामदत्तलाई आईटीको सहसचिवमा नियुक्त गरेका छन्। उनी पदस्थापनाको प्रतिक्षामा देखिन्छन्।
आर्थिक वर्ष २०८१/८२ मा नेपाल विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी सूचना प्रविधि विज्ञ (सहसचिव)का लागि भएको विज्ञापनमा आन्तरिक प्रतिस्पर्धाबाट रामगोविन्द अर्याल सिफारिस भएर नियुक्त भएका थिए। २०८२ बैशाखमा सहसचिवमा सिफारिस भएर नियुक्त भएका रामगोविन्दले असोजमा जागिर छाडेका थिए। एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी)मा पदस्थापन गरिएका रामगोविन्द जागिर छाडेर हिँडेपछि बैकल्पिक योग्यताक्रममा रहेका रामदत्त सहसचिव भएका छन्। रामदत्तको एकाएक भाग्य चम्किएको छ।

पाल्पा तानसेनका रामगोविन्दले मैदान छाड्दा आईटीको सहसचिवमा पञ्चेश्वर बैतडीका रामदत्त उक्लिने भएका छन्। बैकल्पिमा परेर मन मारेका उनी ६ महिनामै सहसचिव बन्न सफल भएका हुन्।
लोक सेवा आयोगमा कार्यरत रहँदै सहसचिव भएका रामदत्तको आगामी मन्त्रिपरिषद्को पदस्थापन हुने सम्भावना बढेको छ। उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत काम गरेका कर्मचारी हुन्। रामदत्त रामगोविन्दले जस्तो मैदान छाडेर हिँड्ने सम्भावना कम छ।
क्याटेगोरी : समाचारट्याग : #रामगोविन्द अर्याल, #रामदत्त भट्ट


तपाईको प्रतिक्रिया दिनुहोस