ग्लोबल फण्ड कार्यक्रम सञ्चालनका लागि सिफारिस भएका ५४ जनाको नियुक्ति यसै साता
काठमाडौं । ग्लोबल फण्डका कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयबाट सिफारिस भएका ५४ जनाको नियुक्ति यसै साताभित्र हुने भएको छ। विभिन्न प्रशासनिक बहाना र पछिल्लो समय मन्त्रालय भवनमा लागेको आगलागीका कारण ढिलो हुँदै आएको नियुक्ति प्रक्रिया अब सोमवारसम्म पूरा हुने समन्वय महाशाखाका प्रमुख भिमप्रसाद सापकोटाले जानकारी दिए।
ग्लोबल फण्ड परियोजनाको एक प्राथमिक प्राप्तकर्ता (PR) को रूपमा सरकार चयन भएपछि क्षयरोग, मलेरिया र एचआईभी कार्यक्रमका लागि आवश्यक ५४ जना कर्मचारी गत साउनमै प्रक्रिया पूरा गरी सिफारिसमा परेका थिए। तर, कागजात व्यवस्थापनजस्ता कारणले पाँच महिना ढिलाे भएको सापकोटाको भनाइ छ।
“विगतमा आगलागीका कारण सबै संरचना जलेपछि पर्दा पछाडि काम भएको थियो। अब ग्लोबल फण्डले सरकारको खातामा पैसा पठाइसकेकाले देखिने गरी काम अघि बढ्छ,” सापकोटाले भने। ग्लोबल फण्डबाट रकम सरकारी खातामा नआएसम्म कार्यक्रम अघि बढाउन नसकिएको र भदौ २ गते सरकारी खातामा पैसा निकासा आएपछि अब कामले गतिलिने दाबी गरे ।
आगलागीपछि खरानी भएका फाइलहरू विभिन्न इमेलमार्फत पुनः संकलन गरिएकाले अब ५४ जना सिफारिसभएका सबैको कागजात सुरक्षित रूपमा उपलब्ध भएको मन्त्रालयले जनाएको छ। “मलेनिका मार्फत रकम जाने भएकाले आवश्यक कागजातको हार्डकपी मंगलबार मलेनिकामा बुझाएका छौँ,” सापकोटाले भने। उनका अनुसार बुधबारदेखि सबै पालिकामा समेत कार्यक्रमका लागि बजेट पठाइनेछ।
सिफारिस भएका ५४ जनासम्बन्धी कुनै समस्या नआए मन्त्रालयले शुक्रबार नियुक्ति प्रक्रियाबारे सूचना जारी गर्नेछ। “शुक्रबार नोटिस निकालेर आइतबार–सोमबारदेखि नियुक्ति दिइ काममा लगाउने गरी फाइल अघि बढेको छ,” सापकोटाले बताए।
क्याटेगोरी : समाचारट्याग : ##Global Found NEPAL, ##mohp nepal, ##UNDP NEPAL


तपाईको प्रतिक्रिया दिनुहोस