यी हुन् एकनारायणले संरक्षण गरेका सहसचिवहरू


काठमाडौं। एकनारायण अर्यालको प्रशासनिक शासनकालमा अधिकांश कर्मचारी पेलानमा परे। संघीय निजामती सेवा ऐन ल्याउन नदिएर चलखेल गरेका एकनारायणको शासनकालमा सीमित कर्मचारीले लाभलाभ लिए। उनीहरूले मागेको खोजेको ठाउँमै सरूवा पाए। एकनारायणको इशारामा उनको स्वार्थपूर्तिका लागि तिनीहरूले काम गरे।

मुख्यसचिवबाट अवकाश भएसँगै एकनारायण भारततिर लागेका छन्। उनको संरक्षण पाएका केही सचिव र सहसचिवहरू भने महत्त्वपूर्ण ठाउँमै बसेर काम गरिरहेका छन्। एकनारायणको संरक्षण पाएका कतिपय सहसचिव प्रदेश समेत गएका छैनन्। एकनारायण आफै प्रदेश नजाने सचिवमा पर्छन्। उनकै सिको गर्दै ती सहसचिवहरू प्रदेश नगएका हुन्। सचिवमा बढुवा भएका शोभाकान्त पौडेल समेत प्रदेशमा नजान खोजिरहेका थिए। चौतर्फी दबाबपछि गण्डकी प्रदेश पुगेका शोभाकान्त दिन गनेर महिना कटाएर महालेखा नियन्त्रक बनेर काठमाडौं फर्किहाले।

बागमती प्रदेश सरूवा भएकी पार्वती शर्मा एकनारायण कै आडमा प्रदेश नगई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख बनिन्। सरूवामा मनपरी गर्दै आएकी विवादित सहसचिव पार्वतीलाई ‘जेन-जी’ सरकारले समेत प्रदेश पठाउन सकेको छैन।

एकनारायणलाई मुख्यसचिव बनाउन भूमिका खेलेका राजेश्वर ज्ञवाली उद्योग विभागको महानिर्देशक रहेका छन्। वाणिज्य विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई हटाउन समेत उनले भूमिका खेलेको आरोप लाग्दै आएको छ। नेपाल ट्रष्टमा बसेर निकै चर्चामा आएका ज्ञवाली ‘जेन-जी’ सरकारमा पनि निकै हर्ताकर्ता देखिन्छन्। यती ग्रुपलाई गोकर्ण फरेष्ट रिसोर्ट सुम्पिने बेलामा ज्ञवालीले विशेष भूमिका निर्वाह गरेका थिए।

राष्ट्रिय योजना आयोगका सहसचिव खोमराज कोइराला एकनारायणको शासनकालमा निकै सल्बलाएका थिए। खोमराज एकनारायणसँग निकट रहेर योजना आयोगमा हालिमुहाली गर्ने सहसचिवमा पर्छन्। एकनारायणको परिक्रमा गर्दै आएका सहसचिव हुन् नारायणप्रसाद अर्याल। जता-जता एकनारायण उता-उतै नारायण भनेर चिनिने नारायणप्रसाद अर्याल प्रदेश नै नजाने सहसचिवमा पर्छन्। एकनारायण भारततिर गएपछि नारायण उद्योगतिर लागेका छन्।

संघीय निजामती कानुनमा ‘कुलिङ अफ पिरियड’ छेडखानीको आरोप लागेकी सहसचिव मिरा आचार्य पनि एकनारायण निकट हुन्। उनले एकनारायणको इशारामा काम गर्दा निजामती कानुन ‘कोमा’मा पुगेको चर्चा चल्दै आएको छ। मिरा पनि प्रदेश नजाने सहसचिवमा पर्छिन्।

एकनाराणको विश्वासपात्र भएकै कारण नमराज घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सीधै भक्तपुरको सिडिओ बनेका थिए। गृहको अनुहार नै नदेखेका घिमिरे उनकै जोडबलमा भक्तपुरको सिडिओ बनेका हुन्। प्रदेश नै नगएका घिमिरे अहिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकको भूमिकामा छन्।

राजस्व अनुसन्धान विभागका महानिर्देशक तिर्थराज चिलुवाल पनि एकनारायण निकट हुन्। उनकै संरक्षणमा रहेका चिलुवाल राजस्व अनुसन्धानको कमाण्ड सम्हाल्न पुगेका हुन्। उनी पनि प्रदेश नजाने सहसचिवमा पर्छन्। एकनारायण निकट भएकै कारण राजिव पोखरेल यातायात व्यवस्था विभागका महानिर्देशकमा टिकिरहेका छन्। काम नगरे पनि उनी लामो समयदेखि विभागीय जिम्मेवारी रहेन सफल भएका छन्। नक्कली लाइसेन्सको छानबिन प्रभावित बनाउन उनलाई यातायात व्यवस्था विभागको महानिर्देशक बनाइएको चर्चा चल्दै आएको छ।

एकनारायण कै आशिर्वाद पाएर सहसचिव रेखा दास श्रेष्ठ लामो समयदेखि ललितपुर महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा टिक्न सफल भएकी छिन्। उनी पनि प्रदेश नटेक्ने सहसचिवमा पर्छिन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवद्वय हेमराज अर्याल र सुभाष ढकाल एकनारायणका खास मान्छे हुन्। अर्याल र ढकालको पहिलो पोस्टिङ नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको हो। एकनारायणको राज अन्त्य भएपनि उनीहरू अहिले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै रजगज गरिरहेका छन्।

निर्वाचन आयोगबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा भएकी निता पोखरेल अर्याल हाजिर नै नभइ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फड्को हानिन्। पूर्वसचिव लक्ष्मण अर्यालकी श्रीमती निता एकनारायणसँग निकट भएकै कारण स्वास्थ्यमा नगई सामान्यमा पुगेकी हुन्। उनलाई दरबन्दी खारेज नभएसम्म वीर अस्पतालमा पठाउनु पर्ने जेन-जीहरूको माग छ।

सहसचिव हुनेबित्तिकै सिंहदरबारमै व्यवस्थापन हुने सहसचिवमा रोशन ज्ञवाली, टंक लम्साल र हेमराज अर्याल पर्छन्। एकनारायणको निर्देशनमा तीन जनालाई नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाइएको थियो। त्यसपछि रोशन उद्योग, टंक अर्थ र हेमराज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै रहे। रोशन अहिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशक रहेका छन्। कुमारप्रसाद दाहाललाई हटाएर उनी त्यहाँ पुगेका हुन्। टंक एयरपोर्ट भन्सारमा पुगेका छन्। एयरपोर्टमा जमेर बसेका उनी पनि प्रदेश नजाने सहसचिव हुन्।

एकनारायण निकट भएकै कारण शिवप्रसाद रेग्मी भूमि व्यवस्था तथा अभिलेख विभागको महानिर्देशक बन्न सफल भएका थिए। प्रदेश नगएका सहसचिव रेग्मी अहिले सरूवा खेतीमा व्यस्त छन्।

एकनाराण कै जोडबलमा सहसचिव पार्वती अर्याल चीनको बेइजिङस्थित नेपाली राजदूतावासमा ‘इकोनोमिक मिनिस्टर’ बनेर गएकी हुन्। उनी पनि प्रदेश गएकी छैनन्। अबुधावीमा श्रम सहचारी हुँदा त्यहाँको राजदूतलाई हैरान बनाएर विवादमा आएकी चर्चित पार्वती अर्याल बेइजिङ पुगेकी हुन्। उनी प्रदेशमा खुट्टा नटेक्ने सहसचिवमा समेत चर्चित छिन्।

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका वसन्त अधिकारी र सरोजप्रसाद गुरागाईं एकनारायण निकट हुन्। अधिकारी अहिले मकवानपुरको सिडिओ छन् भने गुरागाईं काठमाडौं महानगरपालिकामै टिकिरहेका छन्।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी, श्रम मन्त्रालयका सहसचिवद्वय प्रेमप्रकाश आचार्य र पिताम्बर घिमिरे, सञ्चार मन्त्रालयमा सरूवा भएका रविलाल शर्मा, हुलाक सेवा विभागकी महानिर्देशक मनमाया पंगेनी भट्टराई, अर्थ मन्त्रालयका सहसचिवद्वय सुमन दाहाल र थानप्रसाद पंगेनी पनि एकनारायण निकट हुन्। एकनारायणको रजगज अन्त्य भएपनि उनीहरू डगमगाएका छैनन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ