राप्रपामा बुद्धिमान तामाङका श्रीमान्-श्रीमती पालैपालो समानुपातिक सांसद


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीमा बुद्धिमान तामाङका श्रीमान्-श्रीमती पालैपालो समानुपातिक बनेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरस्वती लामा, धादिङलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ। लामा यसअघि राप्रपाबाट समानुपातिक सांसद बनेका बुद्धिमान तामाङको श्रीमती हुन्। बुद्धिमान समानुपातिकबाट सांसद बनेर राप्रपाको संसदीय दलको उपनेता समेत बनेका थिए।

अघिल्लोपटक आफूलाई राप्रपाबाट समानुपातिक सांसद बनाउन सफल पूर्व गृहमन्त्री समेत रहेका तामाङले यसपटक श्रीमती सरस्वतीलाई आदिवासी/जनजाति क्लस्टरको पहिलो नम्बरमा समानुपातिक सूचीमा राखेका थिए। उक्त क्लस्टरको एक नम्बरमै रहेकी सरस्वतीलाई राप्रपाले समानुपातिक सांसद बनाउने निर्णय गरेको हो।

पटकपटक मन्त्री र सांसद भइसकेका बृद्धिमानकी श्रीमती सरस्वतीलाई राप्रपाले समानुपातिक सांसद बनाएर समानुपातिक निर्वाचन प्रणाली कै हुर्मत लिएको छ। समानुपातिक निर्वाचन प्रणाली बुद्धिमान दम्पतीलाई पालैपालो सांसद बनाउन ल्याइदिए जस्तो भएको छ। बुद्धिमान दम्पतीका लागि समानुपातिक प्रणाली पोहोर श्रीमानको पालो यसपाली श्रीमतीको पालो भनेजस्तै भएको छ।

आर्थिक, सामाजिक र शैक्षिक रूपले अगाडि रहेकी बुद्धिमानकी श्रीमतीलाई राप्रपाले समानुपातिक सांसद बनाएपछि पार्टीभित्रै बहस सुरु भएको छ। राप्रपाले समेत तरमारा वर्गलाई समानुपातिक सांसद बनाएको हो। निवर्तमान ऊर्जामन्त्री कुलमान घिसिङकी सासू समेत रहेकी सरस्वती समानुपातिक सांसद बनेकी हुन्।

राप्रपाले यसपटक समानुपातिक सांसदमा सरस्वती लामासहित भरत गिरी, खुस्बु ओली र ताहिर अलीलाई पठाउने निर्णय गरेको छ। राप्रपाबाट समानुपातिकमा बुद्धिमान परिवारको एकछत्र राज हुँदै आएको देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #बुद्धिमान तामाङ, #सरस्वती लामा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ