मन्त्री इङनामको निष्कर्ष: ‘प्रशासनतिरका भन्दा प्राविधिक कर्मचारी भ्रष्ट रहेछन्’
काठमाडौं। अत्याधिक भ्रष्टाचार हुने भनिएको उपत्यकाका मालपोत प्रमुखलाई भागाभाग बनाउने मन्त्री कुमार इङनामले नयाँ तथ्य सार्वजनिक गरेका छन्। भूमिमा नथाकेका मन्त्री इङनाम सहरीमा आजित भएको पाइन्छ। कुलमान घिसिङले राजीनामा दिएपछि सहरी विकास मन्त्रालयको बागडोर सम्हालेका इङनामले प्रशासनतिरका भन्दा प्राविधिक कर्मचारी बढी भ्रष्ट रहेको निष्कर्ष सुनाएका हुन्।
घुस खाने भनेर मालपोतका कर्मचारी बदनाम हुँदै आएका थिए। मन्त्री इङनामले घुस्याहा कर्मचारीलाई ‘साइज’मा ल्याएर छाडेको भनेर भूमितिर चर्चा हुन थालेको छ। ‘जेन-जी’ सरकारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेका इङनामले मालपोतका कर्मचारीमाथि कठोर नीति लिएका थिए। केही आर्थिक व्यवस्थापन गरेर उपत्यकाका मालपोत हाकिम बनेकालाई मन्त्री इङनामले ‘डाँडा’नै कटाएका थिए। तर, सहरी विकास मन्त्रालय सम्हालेका इङनामले त्यहाँ झन भयावह अवस्था रहेको औल्याएका छन्।
कर्मचारीसँग आजित भएका मन्त्री इङ्नामको बिदाइ हुँदै गर्दा भनेका छन्, ‘म हारेँ, तपाईंहरू भोज खानुस्।’, सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रबीन्द्र बोहरासँग मन्त्री इङनाम आजित देखिए। कुनै दिन कर्मचारीले गरेको कुकर्मले जीवनकै सबैभन्दा पीडादायी क्षण बन्न सक्ने मन्त्री इङनामले चेतावनी समेत दिए।
सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले उपत्यका विकास प्राधिकरणले अतिक्रमित संरचना हटाउन खोज्दा काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेतलाई लखेटेका थिए। आफन्तको लगानी रहेको ओम अस्पतालको अवैध कम्पाउण्ड डोजर लगाएर भत्काइदिएपछि बस्नेत सचिव सिग्देलको तारो बनेका थिए। उनै सचिव सिग्देल र उनका विश्वासपात्र भवन विभागका डिजी बोहराले मन्त्री इङनामलाई असहयोग गरेपछि उनले आक्रोश पोखेका हुन्। मन्त्री इङ्नामले आफूलाई इतिहासकै असफल र नालायक मन्त्री भन्दै आफू कालोमोसो दल्न योग्य व्यक्ति भएको टिप्पणी समेत गरे।
सहरी विकास मन्त्रालयबाट बिदाइ हुँदै गर्दा मन्त्री इङनामले ‘संसद् भवन किन समयमा बन्दैन? किन समय थपेको थप्यै गरिन्छ? कर्मचारीहरू किन अटेरी गर्छन्,’ भन्ने गम्भीर सवाल उठाएका छन्। काम नगर्ने डिजीलाई सरुवा गर्न खोज्दा सचिवले नमालेको र दिनपछि मन्त्रीले ३ करोड घुस लिएर महानिर्देशक सरुवा गर्न लागेको भनेर हल्ला फिँजाएको मन्त्री इङनामको गुनासो छ। बालेनले समयमै काम नगर्ने ठेकेदार र कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए। त्यसलाई बल पुग्ने र वास्तविकता उदांगो पारिदिने गरी मन्त्री इङनामले संसद् भवनको विषयमा गम्भीर प्रश्न उठाएका छन्। इङनामले उठाएको विषयमा बालेन सरकारको समेत ध्यानाकर्षण हुने देखिन्छ।
टेक्निकल कुरा जोकोहीले नबुझ्ने भएपछि सहरी विकासमा प्राविधिकहरूले धेरै खेलोफड्को गर्ने गरेको मन्त्री इङनामको दाबी छ। ठेकेदारहरूसँगको नेक्ससमा २ देखि ५ प्रतिशतको कमिसन सेटिङ गर्ने र आर्थिक वर्षको अन्त्यमा झोला बोकेर हिँड्ने प्रवृत्ति रहेको मन्त्री इङनामको टिप्पणी छ। भेरिएसनलाई भ्रष्टाचारको मुख्य हतियारको रूपमा प्रयोग गर्ने गरेको मन्त्री इङनामको आरोप छ । मन्त्री इङनामले अर्थ मन्त्रालयले दादागिरी देखाएको समेत बताए।
मन्त्री इङनामले सहरी विकास मन्त्रालयका उच्च पदस्थमाथि गरेको टिप्पणी सामान्य होइन। काठमाडौंको टोखामा वडाध्यक्षले हडपेको सार्वजनिक जग्गा समेत सचिव सिग्देल कै कारण प्राधिकरणले हटाउन सकेको थिएन। सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन खोज्दा उल्टै जिल्ला आयुक्त सरूवा भए। मन्त्री इङनामले नै उनको विषयलाई लिएर असन्तुष्टि प्रकट गरेका छन्। बालेन सरकारले सहरी विकास मन्त्रालयको विषयमा इङनामले उठाएको यो विषयबाट काम कारबाही प्रारम्भ गर्नुपर्ने देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस