आपूर्तिको दरबन्दीमा ‘च्याँखे’ थापेर सचिव बनेका अधिकारी, दरबन्दी बिनै स्वास्थ्य पुगेका शर्मा


समाचार टिप्पणी

काठमाडौं। आफ्नो लाभका लागि निजामती सेवामा उच्च प्रशासकहरूले कुन हदसम्मको बदमासी गर्छन् भन्ने उदाहरण सचिव बाबुराम अधिकारी हुन्। हाल बागमती प्रदेशको प्रमुख सचिव रहेका अधिकारी आपूर्तिको दरबन्दीमा ‘च्याँखे’ थापेर बढुवा भएका हुन्। नेकपा एमालेका ‘क्याडर’ कर्मचारी अधिकारी ‘मर्ज’ भइसकेको आपूर्ति मन्त्रालयको दरबन्दी देखाएर बढुवा भएका थिए। सचिव बढुवामा ‘च्याँखे’ थापेर विकृति भित्र्याउने कर्मचारीमा उन पर्छन्।

कुनै बेला विकृत राजनीतिक भागबण्डा हुँदा उद्योग, वाणिज्य र आपूर्ति गरी तीनवटा मन्त्रालय बनाइएको थियो। हाल एउटै रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय त्यो बेला उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय र आपूर्ति मन्त्रालय गरी तीनवटा मन्त्रालयमा विभाजन गरिएको थियो। संविधानले संघमा २५ जनाभन्दा बढीको मन्त्रिपरिषद् नहुने भनेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय एउटै बनाइयो। तीनवटा मन्त्रालय एउटै हुँदा उद्योग हेर्ने एउटा र वाणिज्य तथा आपूर्ति हेर्ने अर्को गरी उक्त मन्त्रालयमा प्रशासनका दुई सचिव राख्न थालियो। त्यसैबीच बाबुराम अधिकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहसचिव भएर गए। सचिव बढुवाको मुखमा रहेका अधिकारीले त्यहाँ पुगेपछि आपूर्तिमा समेत सचिवको दरबन्दी रहेको थाहा पाए। उनले त्यहिँ दरबन्दीमा ‘च्याँखे’ थापेर बढुवा खाए। छल गरेर सचिव खाने अधिकारी लुम्बिनी प्रदेश हुँदै अहिले बागमती प्रदेशको प्रमुख सचिवको भूमिकामा छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ‘मर्ज’ भएपछि आपूर्तिको दरबन्दी तत्काल काट्नु पर्ने हो। तर, केपी शर्मा ओलीको सत्तामा एमालेको ‘पोलिटब्यूरो सदस्य’सरहका एकनारायण अर्याल मुख्यसचिव रहेका थिए। एमालेबाट निरन्तर लाभ लिँदै आएका अधिकारीले ओली र एकनारायणलाई दुरूपयोग गरेर आपर्तिको दरबन्दी देखाएर सचिवमा बढुवा भएका हुन्।

एमाले निकट कर्मचारी भएकै कारण पञ्चेश्वर आयोजना बसेरका कर्मचारी समायोजनको बेला सामान्य प्रशासन मन्त्रालयमा बसेर रजगज गरेका अधिकारी २०८१ माघमा ‘च्याँखे’ थापेर सचिवमा बढुवा भएका थिए। छल गरेर सचिव भएका अधिकारी ५८ वर्ष लागेर भदौ ३ गते अनिवार्य अवकाशमा जाँदैछन्। ‘कर्मको फल भोग्ने’ हो भने अधिकारीलाई बालेन सरकारको प्रदेशबाटै बिदाइ गर्ने अवस्था आउँछ।

संघमा १७ मन्त्रालय बनाउँदा प्रशासन तर्फको सचिव दरबन्दी समेत भारी मात्रामा कटौती हुने देखिन्छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत दुई सचिव आवश्यक नरहेको चर्चा हुने गरेको छ। बढुवा खानका लागि मात्र अनावश्यक सचिवको दरबन्दी राखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै दरबन्दी बिनै प्रशासनका सचिव डिल्लीराम शर्मालाई पठाइएको छ। छल गरेर अधिकारीले सचिवमा बढुवा खाँदा शर्मालाई बिना दरबन्दी स्वास्थ्यमा व्यवस्थापन गरिएको हो। स्वास्थ्यमा प्राविधिक सचिव हुँदाहुँदै अनावश्यक रूपमा प्रशासनको सचिव पठाइएको छ। उक्त विकृत कार्यको बालेन सरकारले छानबिन गरेर प्रशासनिक बेथिति तत्काल रोक्नु पर्छ। अधिकारी जस्ता ‘च्याँखे’ थापेर सचिवमा बढुवा खाइ निजामती प्रशासनमा विकृति भित्र्याउने प्रशासकलाई अवसरबाट बञ्चित गर्नुपर्ने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #बाबुराम अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ