प्रदेश नगइकन मन्त्रालयको प्रशासन महाशाखामै रमाइरहेका सहसचिवहरू
काठमाडौं। मध्यमस्तरीय करदाता कार्यालयबाट बागमती प्रदेश सरूवा भएकी सहसचिव पार्वती अर्याल प्रदेश नगइकन सीधै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखाको कमाण्ड सम्हाल पुगिन्। नेकपा एमालेकी नेतृ भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुँदा पार्वती सेटिङमा प्रशासन महाशाखा प्रमुख बन्न सफल भएकी थिइन्। अहिले पनि पार्वतीले उक्त महाशाखा बसेर रजगज गरिरहेकी छिन्।
एमाले सत्ताबाट लाभ लिँदै आएकी सहसचिव पार्वती प्रदेशको सरूवा समेत बदर गराएर सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख बनेकी हुन्। आफै खटाएको ठाउँमा नजाने तरमारा सहसचिव पार्वतीले अरू कर्मचारीलाई खटाएको ठाउँमा पठाउन पनि नैतिक संकट देखिन्छ।
अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी प्रदेश नै नगइकन ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाँदैछन्। ३/४ वर्ष महालेखा नियन्त्रक कार्यालय बसेर तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनाएका पंगेनी शुक्रबारबाट अनिवार्य अवकाशमा जाँदैछन्। सहसचिव पंगेनी प्रदेशको मुख नै नदेखी घर जान लागेका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रशासन महाशाखा प्रमुख नारायणप्रसाद अर्याल पनि प्रदेश नजाने सहसचिवमा पर्छन्। २०७७ सालमै सहसचिव भएका एमाले सत्ताका तरमारा सहसचिव अर्याल अहिलेसम्म प्रदेश टेकेका छैनन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोक सेवा आयोग, गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनेका अर्यालले अहिलेसम्म प्रदेशको अनुहार देख्न नपाएका हुन्। सरकारले उनलाई प्रदेशको सचिवमा जाने अवसरबाट बञ्चित गर्नु हुँदैन।
सिता गुरूङ सहरी विकासमन्त्री हुँदा निजी सचिव बसेका नारायणप्रसाद मैनाली सहसचिव हुनेबित्तिकै सहरी विकास मन्त्रालयमा पदस्थापन भएका थिए। प्रकाशमान सिंह सहरी विकासमन्त्री हुँदा उक्त मन्त्रालयको प्रशासन महाशाखाको कमाण्ड सम्हालेका सहसचिव मैनाली कै अझै रजगज जारी छ। पछिल्लो समय चारित्रिक विषयमा समेत विवादमा परेका सहसचिव मैनाली प्रदेशमा नगइकन संघमै रमाइरहेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी प्रशासन महाशाखा प्रमुख अनिता निरौला पनि प्रदेश नजाने सहसचिवमा पर्छिन्। रामेछापको प्रमुख जिल्ला अधिकारी हुँदै शिक्षा मन्त्रालय आइपुगेकी सहसचिव निरौला प्रदेश नजाने कर्मचारी हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दिवस आचार्य पनि अहिलेसम्म प्रदेश गएका छैनन्। उनी पनि प्रदेश नजाने सहसचिवमा पर्छन्। रक्षा मन्त्रालयका प्रशासन महाशाखा प्रमुख मनोजकुमार आचार्य पनि प्रदेश गएको रेकर्डमा भेटिदैन। उनी ५८ वर्ष लागेर घर जान लागेकाले प्रदेश जाने समय नै छैन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन महाशाख प्रमुख हेमराज अर्याल पनि प्रदेश नजाने सहसचिवमा पर्छन्। उनकाे त पहिलो पोष्टिङ नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको हो।
निर्वाचन आयोगका प्रशासन महाशाखा प्रमुख नारायणप्रसाद भट्टराई पनि अहिलेसम्म प्रदेश गएका छैनन्। त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रशासन महाशाखा प्रमुख रोशनी कुमारी श्रेष्ठ पनि अहिलेसम्म प्रदेश गएकी छैनन्। गृह सचिव राजकुमार श्रेष्ठकी धर्मपत्नी समेत रहेकी रोशनी डेढ वर्षदेखि प्राधिकरणमा कार्यरत रहेकी छिन्।
क्याटेगोरी : समाचारट्याग : #अनिता निरौला, #थानप्रसाद पंगेनी, #नारायणप्रसाद अर्याल, #नारायणप्रसाद मैनाली, #पार्वती शर्मा, #हेमराज अर्याल


तपाईको प्रतिक्रिया दिनुहोस