मधेश प्रदेश सरूवा भएपछि महालेखा नियन्त्रक शोभाकान्तले गरे महाशाखा प्रमुख हेरफेर
काठमाडौं। तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सेटिङमा प्रदेशमा १ महिना पनि नबसी महालेखा नियन्त्रक बनेका शोभाकान्त पौडेल मधेश प्रदेश सरूवा भएका छन्। आफू सरूवा भएको झोकमा शोभाकान्तले महालेखा नियन्त्रक कार्यालयको महाशाखा प्रमुख हेरफेर गरेका हुन्।
महालेखा नियन्त्रक कार्यालयको मानवस्रोत तथा योजना महाशाखा प्रमुख वरिष्ठ सहसचिवले पाउनु पर्ने हो। तर, वरिष्ठ सहसचिव यमुना प्रधानलाई कोष व्यवस्थापन तथा प्रतिवेदन महाशाखामा थन्क्याएर शोमाकान्तले उनीभन्दा कनिष्ठ सहसचिव दिपक लामिछानेलाई प्रशासन महाशाखाको जिम्मेवारी दिएका थिए। आफ्नो मधेश प्रदेशमा सरूवा भएपछि लामिछानेलाई कोष व्यवस्थापन तथा प्रतिवेदन महाशाखाको चिठ्ठी थमाएर यमुनालाई प्रशासनको जिम्मा दिएका छन्। उनको बल्ल घैंटोमा घाम लागेको देखिन्छ।
लेखापरीक्षण, सम्पत्ती तथा बजेट महाशाखा प्रमुखमा विष्णुप्रसाद ज्ञवालीलाई भने यथावत् राखिएको छ। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सरुवा भएर महालेखा नियन्त्रक कार्यालयमा आएका हुन्।
तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलका स्वकीय सचिव यम पाण्डे र मधुसुदन पौडेलको सेटिङमा शोभाकान्त महालेखा नियन्त्रक बनेपछि लामिछानेलाई उनीहरू कै डिजाइनमा प्रशासन महाशाखा प्रमुख बनाइएको चर्चा छ। उनीहरू कै योजनामा कान्ति बाल अस्पतालमा पदस्थापन भएका विष्णुहरि रेग्मीको सरूवा बदर गरेर प्रशासन शाखा प्रमुख बनाइयो। राजस्व समूहको अधिकृतबाट लेखाको उपसचिव बनेको
एक वर्ष पनि नभएका रेग्मीलाई सीधै कर्मचारी प्रशासन शाखाको जिम्मा दिइएको थियो। कान्ति बाल अस्पतालमा पदस्थापन भएर पनि हाजिर नभएको रेग्मीलाई कर्मचारी प्रशासन शाखाको प्रमुख बनाइएको घटनाले महालेखामा बेथितिले डाँडा काटेको देखिएको थियो। महाशाखा प्रमुख लामिछाने र शाखा प्रमुख रेग्मीलाई बनाएर शोभाकान्तले अर्थमन्त्री विष्णुका निजी सचिव मधुसुदनलाई परराष्ट्र मन्त्रालय पठाउन सफल भएका थिए। मधुसुदनलाई मादण्डको खिल्ली उडाउँदै परराष्ट्र पठाइएको हो।
शोभाकान्तको सरूवा भएसँगै लामिछाने प्रशासनबाट अर्को महाशाखामा पुगेका छन्। अब विष्णुहरि र मधुसुदनको व्यवस्थापन गर्न बाँकी छ। बालेन सरकारले महालेखामा मौलाएको बेथितिलाई शोभाकान्तको सरूवा गरेर सुधार गर्ने प्रयास गरेको छ। यसको सुरूवात महाशाखा प्रमुखको हेरफेरबाटै भएको देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस