प्रदेशनै नगइकन सचिव कृष्णहरि पुष्कर कर्ण घर गए
काठमाडौं। प्रदेशनै नगइकन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडा (कान्जी-हाउस)मा रहेका सहसचिव कृष्णहरि पुष्कर कर्ण घर गएका छन्। कर्ण ५ वर्ष सचिव चलाएर अनिवार्य अवकाशमा गएका हुन्।
२०७८ असार २४ गते सचिवमा बढुवा भएका कर्ण मंगलबारबाटै प्रधानमन्त्री कार्यालयको ‘कान्जी-हाउस’बाट बाहिरिएका हुन्। बुधबार उनी कान्जी-हाउसमा भेटिने छैनन्। त्यहाँ अब सचिवहरू हरिप्रसाद मैनाली, लोकनाथ पौड्याल, गोविन्दप्रसाद शर्मा र डिल्लीराम शर्मा मात्र भेटिनेछन्। उक्त ‘कान्जी-हाउस’ बिस्तारै रित्तिने अवस्था देखिन्छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग मुख्यसचिव वा राजदूतमध्ये एक पदमा बार्गेनिङ गरेर प्रधानमन्त्री कार्यालयको ‘कान्जी-हाउस’मा पुगेका सचिव कर्ण त्यहाँबाट सधैका लागि बाहिरिएका छन्। प्रधानमन्त्रीले दुबै पद हुँदैन भनेर कुटनीतिक ढंगले केरकारमा पठाएपनि उनले त्यसको अर्थ बुझ्न सकेनन्। उपराष्ट्रपति कार्यालयबाट ‘कान्जी-हाउस’ तान्दा पनि सचिव कर्ण निर्लज्ज भएर हाजिर भए। उनको मुख्यसचिवको सपना पनि हुरीले उडाएको छ।
सचिवमा बढुवा भएपछि बिचौलिया दिपक भट्टलाई ‘शासकीय सहजकर्ता’ भनेर प्रदेश नगइकन कर्ण सीधै राजस्व सचिव बन्न सफल भएका थिए। उनै ‘शासकीय सहजकर्ता’को जोडबलमा उनी दोहोऱ्याएर अर्थ सचिव बने। सामान्य प्रशासन मन्त्रालयका सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हुँदै कर्ण कै भाषा अर्का ‘शासकीय सहजकर्ता’ कैलाश खड्काको साथ पाएर श्रम सचिवमा सरूवा भए। खड्का कै ‘डिजाइन’मा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बुद्धि गरेपछि सरकारले उनलाई उपराष्ट्रपति पुऱ्याएको थियो। कोरियाको श्रम सहचारी र दिल्लीको इकोनोमिक्स मिनिस्टरले नपुगेर राजदूत खोजेपछि सचिव कर्ण ‘कान्जी-हाउस’मा हालिएका थिए। उनी त्यहीँबाट घर गएका हुन्। सचिवमा बढुवा भएपछि प्रदेश नगइ उनी घरदेश गएका छन्। मधेशी कोटाबाट उपसचिव र सहसचिव भएका कर्ण पूरा कार्यकाल सचिव चलाएर घर गएका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #कृष्णहरि पुष्कर कर्ण


तपाईको प्रतिक्रिया दिनुहोस