को बन्ला सरकारको ३० औं मुख्यसचिव?


काठमाडौं। नेपाल सरकारका २९ औं मुख्यसचिव सुमनराज अर्याल ५८ वर्ष पूरा भएर भोलि (बिहीबार) रातिबाट अनिवार्य अवकाशमा जाँदैछन्। २०२५ साल असार २६ गते काठमाडौंको जोरपाटीमा जन्मिएका मुख्यसचिव अर्याल ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन्। बिहीबारबाट मुख्यसचिव पद रिक्त हुँदैछ। मुलुक ३० औं मुख्यसचिवको पर्खाइमा छ।

मुख्यसचिवको मुख्य दाबेदार बनेर लबिइङ गर्दै हिँडेका कृष्णहरि पुष्कर कर्ण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘कान्जी-हाउस’मा पुगेका थिए। सचिवको ५ वर्षे कार्यकाल पूरा गरेर कर्ण ‘कान्जी-हाउस’बाट बाहिरिएसँगै उनको मुख्यसचिव बन्ने सपना तुहिएको छ। अब बहालवाला सचिव किरणराज शर्मादेखि राजेन्द्रकुमार पौडेलसम्म मुख्यसचिवका लागि योग्य र प्रतिस्पर्धी हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष दरबन्दीमा रहेका सचिव खगेन्द्रप्रसाद नेपाल बहालवाला सचिवमा सबैभन्दा वरिष्ठ हुन्। तर, फरक क्षमता भएका कारण विशेष दरबन्दीमा बढुवा भएका कारण उनी मुख्यसचिवको दौडमा देखिने छैनन्। निजामती सेवा ऐन २०४९ को दफा १९ मा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवहरुमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने उल्लेख छ।कार्यकुशलताका आधारमा नेपाल मुख्यसचिव बन्ने सम्भावना देखिँदैन।

नेपालपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडा (कान्जी-हाउस)मा रहेका सचिवहरू हरिप्रसाद मैनाली, लोकनाथ पौड्याल, गोविन्दप्रसाद शर्मा र डिल्लीराम शर्मा मुख्यसचिवको प्रतिस्पर्धाबाट बाहिरिसकेका छन्। अवकाशको मुखमा रहेका र कम उमेरका उनीहरू मुख्यसचिवको प्रतिस्पर्धामा ‘सिन’मा देखिदैनन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्मा, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउत, पर्यटन सचिव मुकुन्दप्रसाद निरौला, लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल, राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, श्रम मन्त्रालयका सचिव दिपक काफ्ले, महिला मन्त्रालयको सचिव राधिका अर्याल, अख्तियारका सचिव नारायणप्रसाद शर्मा दुवाडी, ऊर्जा मन्त्रालयको सचिव सरिता दवाडी, प्रधानमन्त्री कार्यालय कै सचिव गोविन्दबहादुर कार्की र उपराष्ट्रपति कार्यालयको सचिव चन्द्रकला पौडेल मुख्यसचिवको प्रतिस्पर्धामा देखिन्छ।

सरकारले लागू गर्न खोजेको ३०-५५ को मापदण्डभित्र किरणराज शर्मा, राजकुमार श्रेष्ठ, रामेश्वर दंगाल, रविलाल पन्थ, र गोविन्दबहादुर कार्की, हरिप्रसाद मैनाली, चूडामणि पौडेल, राजेन्द्रप्रसाद पौडेल, डिल्लीराम शर्मा, लोकनाथ पौड्याल, केदारनाथ शर्मा, मदन भुजेललगायत सचिव पर्छन्। त्यसैले उक्त मापदण्डले घर नजाने सचिव मुख्यसचिवका लागि सरकारको रोजाइमा पर्ने देखिन्छ।

मुख्यसचिवको प्रतिस्पर्धामा एक नम्बरमा रहेका सचिव किरणराज शर्मा उपसचिव हुँदा डिभी परेर अमेरिका पलायन भएका थिए। ५ वर्ष बढी स-परिवार अमेरिका पलायन भएका किरण सहसचिव भएपछि मात्र नेपाल फर्किएका थिए। डिभी कै विवादमा परेर उनको रक्षा मन्त्रालयको सचिवबाट सरूवा भएको हो। अडान र व्यवस्थापनका हिसाबले पनि उनको काविलता नदेखिएको चर्चा हुन थालेको छ। मुख्यसचिवको प्रतिस्पर्धामा रहेका राजकुमार श्रेष्ठ र गोविन्दबहादुर कार्कीलाई पनि उमेर फ्याक्टरले धोका दिएको छ।

अपांग कोटाबाट सहसचिव हुँदै सचिव बनेका दिपक काफ्ले र राधिका अर्यालको नाम पनि धिमा गतिमा देखिन थालेको चर्चा छ।

३०-५५ र अन्य कुराले गर्दा अहिले मुख्यसचिवको मुख्य चर्चामा गोपालप्रसाद सिग्देल, कृष्णबहादुर राउत, मुकुन्दप्रसाद निरौला र घनश्याम उपाध्याय रहेका छन्। किरणराज शर्मा, हरिप्रसाद मैनाली, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, रविलाल पन्थ, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौला सहसचिवका ‘ब्याची’ हुन्। सचिवमा अघिपछि बढुवा भएपनि एकैदिनका सहसचिव भएका थिए। मुख्यसचिवको प्रतिस्पर्धामा २०६९ फागुनका ‘ब्याची’ सहसचिवहरू आधा दर्जन बढी रहेको पाइन्छ। कृष्णबहादुर राउत उनीहरूभन्दा अघि नै सहसचिव भएका हुन्।

घनश्याम उपाध्याय, नारायणप्रसाद शर्मा दुवाडी, दिनेशकुमार घिमिरे, दिपक काफ्ले र राधिका अर्याल एउटै ‘ब्याच’का सहसचिव हुन्। घनश्याम, नारायण र दिनेश खुला प्रतिस्पर्धाबाट, दिपक अपांग कोटाबाट र राधिका महिला कोटाबाट सहसचिव भएका थिए । उनीहरूको ‘ब्याच’ पनि मुख्यसचिवको प्रतिस्पर्धामा उत्रिएको छ। गोविन्द, चन्द्रकलाहरू उनीहरूभन्दा पछाडि सहसचिव र सचिव भएका हुन्।

यसरी हेर्दा सिग्देल, राउत, निरौला र उपाध्यायबीच नै मुख्यसचिवमा मुख्य प्रतिस्पर्धा देखिन्छ। प्राविधिकभन्दा प्रशासन सेवाका सचिवलाई मुख्य सचिव बनाउदा सरकारलाई व्यवस्थापन र परिचालन गर्न सहज हुन्छ। अबको मन्त्रिपरिषद्को बैठकले ३० औं मुख्यसचिव बढुवा गर्ने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ