उपसचिव पंगेनीद्वारा सरकारी गाडी दुरूपयोग


काठमाडौं। राज्यको नीति-नियम सर्वसाधारणलाई मात्रै लाग्ने हो वा सिंहदरबारका कर्मचारीलाई पनि? सरकारी सम्पत्तिको दोहन कुन हदसम्म हुन्छ भन्ने एउटा लज्जास्पद उदाहरण वीर अस्पतालमा फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट वीर अस्पतालमा सरुवा भएका उपउपसचिव हरि पंगेनीले सरकारी सवारी साधनको चरम दुरुपयोग गरेको पाइएको छ।

मन्त्रालयबाट सरुवा भएर जाँदा आफूले चढ्दै आएको सवारी साधन मन्त्रालयलाई नै बुझाउनुपर्ने कानुनी व्यवस्था र आचारसंहितालाई धज्जी उडाउँदै उनले राज्यको सम्पत्तिमाथि ‘कब्जा’ जमाएको गम्भीर तथ्य बाहिर आएको छ।

नियमविपरीत मन्त्रालयको गाडी वीर अस्पताल पुर्‍याइयो

उपसचिव हरि पंगेनी स्वास्थ्य मन्त्रालयमा कार्यरत रहँदा उनलाई सरकारी कामकाजका लागि **बा १ झ ६९४१** नम्बरको चारपाङ्ग्रे सवारी साधन उपलब्ध गराइएको थियो। नियमतः मन्त्रालयबाट वीर अस्पतालमा सरुवा भएपछि उक्त गाडी मन्त्रालयकै मातहतमा छाड्नुपर्थ्यो। तर, अख्तियारको दुरुपयोग गर्दै पंगेनीले उक्त गाडी मन्त्रालयमा नबुझाई आफूसँगै वीर अस्पताल लिएर गएका छन्।

यसबीचमा स्वास्थ्य मन्त्रालयले आफ्ना मातहतका सवारी साधनहरूको विवरण खोज्ने क्रममा उक्त गाडीको विवरण माग गरेको थियो। तर, कारबाहीबाट बच्न र आफ्नो बदमासी लुकाउन उपसचिव पंगेनीले गाडीको विवरण नै लुकाएको र मन्त्रालयलाई गलत सूचना दिएको बुझिएको छ।

अझ अचम्मको कुरा त के छ भने, उक्त **बा १ झ ६९४१** नम्बरको चारपाङ्ग्रे सरकारी गाडीलाई अहिले वीर अस्पतालको मोटरसाइकल पार्किङ क्षेत्रमा लुकाई-छिपाई राखिएको छ। सरकारी गाडीलाई यसरी लुकाएर राख्नुले नै उनको बदनियत र अख्तियारको दुरुपयोगलाई छताछुल्ल पारेको छ। तर, उपसचिव पंगेनीले भने उक्त गाडी फिर्ता गरेकाे बताएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ