भोजपुरका कार्की बने मुख्यसचिव
काठमाडौं। भोजपुरका गोविन्दबहादुर कार्की मुख्यसचिव भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई मुख्यसचिवमा बनाएको हो। प्रधानमन्त्री कार्यालयमा बसेर काम देखाएका कार्की कार्यकुशलताको आधारमा मुख्यसचिव भएका हुन्।
२०२७ साल पुस २५ गते भोजपुर टक्सारमा जन्मिएका कार्की २०५३ पुस ७ गतेबाट सरकारी सेवा सुरू गरेका थिए। २०७० चैतमा सहसचिव भएका कार्की २०८१ भदौं २० मा सचिवमा बढुवा भएका थिए। सचिव भएपछि बागमती प्रदेश, वाणिज्य तथा आपूर्ति सचिव हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका कार्की बालेन सरकारको स्पिरिटमा चलिरहेका छन्। प्रधानन्यायाधीशमा जस्तै मुख्यसचिवमा पनि क्रमभङ्गता भएको छ।
मुख्यसचिवको ३ वर्ष सेवा अवधि कायम रहँदा ५८ वर्षे उमेर हदका कारण कार्कीले साढे दुई वर्ष मुख्यसचिव चलाउँछन्। उनी हाल साढे ५५ वर्षका भए। ३० वर्ष सेवा अवधि भने पुसमा पुग्ने देखिन्छ।
कार्कीभन्दा अगाडि किरणराज शर्मा, हरिप्रसाद मैनाली, गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, गोपालप्रसाद सिग्देल, रविलाल पन्थ, रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौला, सरजुकुमार वैद्य, डा. दिपक काफ्ले, नारायणप्रसाद शर्मा दुवाडी, लक्ष्मीकुमारी बस्नेत, विश्वबाबु पुडासैनी, राधिका अर्याल, घनश्याम उपाध्याय, दिनेशकुमार घिमिरे, सरिता दवाडी, चूडामणि पौडेल, पाराश्वर ढुंगाना, केदारनाथ शर्मा, लोकनाथ पौड्याललगायत सचिव रहेका थिए। विभिन्न सेवा समूहका ३५ जना सचिवलाई पछाडि पर्दै भोजपुरे कार्की मुख्यसचिवमा बढुवा भएका हुन्। ३० औं मुख्यसचिवमा कार्कीले बाजी मारेका छन्।
ल्हासाको महावाणिज्यदूत, पर्यटन विभागको महानिर्देशक, एलडिओ, सिडिओ सबै चलाएका कार्की काविला कर्मचारी मानिन्छन्।
मुख्यसचिव बनेका कार्की लमजुङ, भोजपुर र काभ्रेपलाञ्चोकको स्थानीय विकास अधिकारी (एलडिओ) भएका थिए। सहसचिव भएपछि डोटी र कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतको भूमिकामा समेत कार्कीले काम गरेका थिए। पर्यटन विभागको डिजी हुँदै ल्हासाको महावाणिज्यदूत बनेका कार्की त्यहाँबाट फर्किएर आएपछि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव भएर गए। त्यसपछि उद्योग र पर्यटन मन्त्रालयमा काम गरेका कार्की सचिवमा बढुवा भएर बागमती प्रदेशको प्रमुख सचिव भएर गएका हुन्।
साढे ४ महिना बागमती प्रदेशको प्रमुख सचिव कार्की वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा भए। त्यहाँ साढे ८ महिना काम गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका कार्की एक वर्ष बढीदेखि उक्त कार्यालयमा कार्यरत छन्। प्रधानमन्त्री कार्यालयमा बसेर कामले बालेनको मन जितेका कार्की मुख्यसचिव बन्न सफल भएका हुन्।
मुख्यसचिव बनेका कार्कीले वाणिज्य, जनप्रशासन र मानविकी तथा सामाजिक शास्त्र गरी ३ विषयमा स्नाकोत्तर गरेका छन्। नेपालबाट दुई विषय र जापानबाट एक विषयमा स्नाकोत्तर गरेका हुन्। पढाइमा जस्तै साढे दुई दर्जन सचिवलाई पछि पार्दै कार्की मुख्यसचिव बनेका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस