सचिव नेपाल अवकाशमा गएसँगै विशेष दरबन्दी स्वतः खारेज
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपाल अनिवार्य अवकाशमा गएका छन्। सचिवको ५ वर्षे सेवा अवधि पूरा गरेर नेपाल अवकाशमा गएका हुन्।
नेपाल २०७८ साल असार २८ गते सचिवमा बढुवा भएका थिए। शिक्षा प्रशासनका सहसचिव नेपाललाई विशेष दरबन्दी सिर्जना गरेर सचिवमा बढुवा गरिएको थियो। फरक क्षमताका नेपाललाई विशिष्ट श्रेणीको विशेष दरबन्दी सिर्जना गरेर सचिवमा बढुवा गरिएको थियो। उनी अवकाशमा गएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरिएको सचिव विशेष दरबन्दी स्वतः खारेज भएको हो।
नेपाल अवकाशमा गएपछि शिक्षातिरका सचिवहरूको संख्या पनि घट्न थालेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव कमलप्रसाद पोखरेल, शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल, लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री र सुदूरपश्चिम प्रदेशका बैकुण्ठप्रसाद अर्याल शिक्षातिरबाट विशिष्ट श्रेणीमा बढुवा भएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरुको संख्या पनि घट्न थालेको छ। प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्कर कर्ण र खगेन्द्रप्रसाद नेपाल अवकाशमा गएसँगै अनावश्यक सचिवको व्यवस्थापन हुन थालेको हो। दरबन्दीका सचिव किरणराज शर्मा पनि घर जाने तरखरमा छन्। सचिव लोकनाथ पौड्याल डेढ हप्ताभित्रै जगेडाबाट आउट हुनेछन्। हरिप्रसाद मैनालीको कथा पनि उस्तै छ। गोविन्दप्रसाद शर्मा र डिल्लीराम शर्माको पनि एक महिनाभित्रै अवकाशमा जाने सूचीमा छन्। कार्यक्षमता कमजोर भएका सचिवहरू आफै ‘साइट’ लाग्न थालेका हुन्।
ट्याग : #खगेन्द्रप्रसाद नेपाल


तपाईको प्रतिक्रिया दिनुहोस