एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री पौडेलविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
काठमाडौं। एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा मुद्दा दायर गरिएको छ। उनीविरुद्ध झन्डै २१ करोडको सम्पत्ति शुद्धीकरण कसूरमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान विभागले यसअघि दर्ता भएको प्रतिवादी दिपक भट्ट समेतको मुद्दामा थप अनुसन्धान गरी पुरक आरोप पत्र विशेष अदालमा दायर गरेको हो।
विशेष अदालतबाट जारी भएको सूचना अनुसार विष्णुप्रसाद पौडेलसहित ६ जना व्यक्ति र १० प्राइभेट लिमिटेड कम्पनीसहित १६ जना प्रतिवादी बनाएर सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो। प्रतिवादी दिपक भट्टलगायतलाई सम्पत्तिको गैर कानुनी सम्पत्ति लुकाउन एवं छल्ने वातावरण निर्माण गरिदिई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम सम्पत्ति शुद्धीकरण गरेको कसूरको मतियारको कार्य भन्ने कसूरमा निज विष्णुप्रसाद पौडेलको हकमा २० करोड ९० लाख रुपैयाँ कायम गरी एभरेष्ट बैंक लिमिटेडको खातामा मौज्दात रहेको ६ लाख ३४ हजार ५ सय ४५ रुपैयाँ जफत हुने माग दाबी समेत लिई मुद्दा दायर भएको विशेष अदालतले जनाएको छ।
विभागको प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ। बिचौलिया दीपक भट्टसँग मिलेर नीतिगत भ्रष्टाचार गरी सम्पत्ति शुद्धीकरण गरेको कसूरमा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, सुभी अग्रवालसहितका ६ व्यक्ति र १० कम्पनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूरक अभियोग विशेष अदालतमा दर्ता गरिएको हो।


तपाईको प्रतिक्रिया दिनुहोस