ग्लोबल फन्डको आठौँ साइकलका लागि पीआरमा युनोप्स छनोट


काठमाडौं । ग्लोबल फन्डको आठौँ साइकल (GC8) अन्तर्गत नेपालका लागि प्रिन्सिपल रिसिपियन्ट (PR) मा युनोप्स छनोट भएको छ।

बिहीबार बसेको कन्ट्री कोअर्डिनेटिङ मेकानिजम (CCM) बैठकले युनोप्सलाई पीआरका रूपमा छनोट गरेको हो। मूल्यांकनमा युनोप्सले ८२.१० अंक प्राप्त गरेको छ भने युएनडिपीले ८१.५३ अंकसहित दोस्रो स्थान हासिल गरेको छ। प्लान इन्टरनेशनलले ६९ अंक प्राप्त गरेको छ।

नयाँ पीआरका लागि सेभ द चिल्ड्रेन फेडेरेसन, युएनडिपी, प्लान इन्टरनेशनल र युनोप्सले आवेदन दिएका थिए। सेभ द चिल्ड्रेन फेडेरेसनको आवेदन भने मुख्यालयबाट जारी हुनुपर्ने अनुमति पत्र (Authorization Letter) संलग्न नभएकाले छनोट प्रक्रियाबाट हटाइएको स्रोतले जनाएको छ।

यसअघि सातौँ साइकल (GC7) मा युएनडिपीले पीआरको जिम्मेवारी सम्हालेको थियो। तर कार्यक्रम कार्यान्वयन, खरिद प्रक्रिया, मानव स्रोत व्यवस्थापन, विदेशी नागरिक भर्ना, एचआईभी परीक्षण सामग्री खरिदलगायत विभिन्न विषयमा विवाद र आलोचनामा परेको थियो। ती कारणले यसपटक नयाँ पीआर छनोट गरिएको स्रोतको भनाइ छ।

स्रोतका अनुसार मूल्यांकनका क्रममा युएनडिपीको कार्यसम्पादन (Performance) पनि ‘C’ र ‘D’ श्रेणीभन्दा माथि उठ्न सकेन। समग्र मूल्यांकनका आधारमा ग्लोबल फन्डको आठौँ साइकलका लागि युनोप्स पीआरमा छनोट भएको मन्त्रालयले जनाएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ