अख्तियारका सचिव शर्मा अवकाश, दुई साताभित्रै हुनेछ गृह सचिव रिक्त
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव डिल्लीराम शर्मा अनिवार्य अवकाशमा गएका छन्। सचिवको ५ वर्षे सेवा अवधि पूरा गरेर उनी सरकारी सेवाबाट बिदा भएका हुन्।
२०२६ साल साउनमा पर्वतमा जन्मिएका शर्मा ५७ वर्षको उमेरमै सरकारी सेवाबाट अवकाश भएका छन्। ३० वर्ष बढी सेवा पुगेका सचिव शर्मा ३०-५५ को बहस चलिरहँदा अनिवार्य अवकाशमा गएका हुन्। लुम्बिनी प्रदेशको प्रमुख सचिव, स्वास्थ्य मन्त्रालयको सचिव, राष्ट्रपति कार्यालयको सचिव, लोक सेवा आयोगको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा बसेर एक महिना अगाडि अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुगेका सचिव ५ वर्ष पूरा भएर घर गएका छन्।
२०७८ भदौ ३ गते सचिवमा बढुवा भएका शर्मा मंगलबारबाट घर गएका हुन्। भदौं १५ गते गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ पनि ५ वर्षे कार्यकाल पूरा भएर अनिवार्य अवकाशमा जाँदैछन्। शर्मा अवकाशमा गएसँगै भदौभित्रै प्रशासन सेवाका दुई सचिव रिक्त हुने भएको छ। भदौभित्रै मुलुकले नयाँ गृह सचिव पाउनेछ।
२०६९ फागुनमा एकैदिन आन्तरिक प्रतिस्पर्धाबाट किरणराज शर्मा, रामप्रसाद घिमिरे, हरिप्रसाद मैनाली, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, रविलाल पन्थ, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौला सहसचिव भएका थिए। उनीहरूमध्ये किरणराज शर्मा, रामप्रसाद घिमिरे, हरिप्रसाद मैनाली र डिल्लीराम शर्मा अनिवार्य अवकाशमा गइसकेका छन्। अब राजकुमार श्रेष्ठ, रविलाल पन्थ, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौला घर जाने तयारी गरिरहेका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #डिल्लीराम शर्मा, #डिल्लीराम शर्मा सचिव, #राजकुमार श्रेष्ठ


तपाईको प्रतिक्रिया दिनुहोस