सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयका दुई सचिवलाई दोहोरो जिम्मेवारी
काठमाडौं। सुदूरपश्चिम प्रदेशका दुई सचिवलाई दोहोरो जिम्मेवारी दिइएको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिवद्वय विमलप्रसाद बराल र तेजप्रकाश जोशीले दोहोरो जिम्मेवारी पाएका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव विमलप्रसाद बराल प्रदेश लोक सेवा आयोगको समेत जिम्मेवारी दिइएको छ। प्रदेश लोक सेवा आयोगको सचिव रहेका ओमबहादुर खड्कालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव देवराज जोशीको संघमा सरूवा भएपछि रिक्त स्थानमा खड्कालाई ल्याएर बराललाई दोहोरो जिम्मेवारी दिइएको पाइन्छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव ओमबहादुर खड्काको पनि अब एक महिना जागिर बाँकी छ।
सुदूरपश्चिममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन दाहाल सम्पत्ति शुद्धीकरण मुद्दा लागेर निलम्बनमा परेपछि तेजप्रकाश जोशीलाई दोहोरो जिम्मेवारी दिइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कानुन सचिव जोशीलाई प्रशासनको दरबन्दी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा समेत दोहोरो जिम्मेवारी दिइएर खटाइएको हो।
सरकारले प्रदेश नगएका ३ सहसचिवलाई तत्काल सुदूरपश्चिम प्रदेशमा पठाउनु पर्ने देखिन्छ। केन्द्रमा रजगज गरिरहेका त्यस्ता सहसचिवलाई सुदूरपश्चिम प्रदेशतिर पठाउने ठाउँ रहेको छ।
क्याटेगोरी : समाचारट्याग : #तेजप्रकाश जोशी, #बिमलप्रसाद बराल


तपाईको प्रतिक्रिया दिनुहोस