निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै उद्धारमा खटाउन निर्देशन


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्देशन दिएको छ।

निजी हेलिकप्टरहरू आफ्नै हिसाबले सञ्चालन हुँदा प्रभावित क्षेत्रमा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो।

प्राधिकरणले हेलिकप्टरमार्फत खोज तथा उद्धार गर्नुपर्ने अवस्था आएमा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित रूपमा उद्धार कार्य अघि बढाउन भनेको छ।

नेपाली सेनाको हेलिकप्टर उडाउनुपर्ने अवस्था आएमा जिल्ला सुरक्षा समितिले सम्बन्धित जिल्लामा रहेको नेपाली सेनाको टोलीसँग समन्वय गर्नुपर्नेछ। निजी हेलिकप्टर आवश्यक परेमा भने प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिमार्फत तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

निजी हेलिकप्टर व्यवस्थापनका लागि प्राधिकरणले हेली एभरेस्टका सचित अर्याल, अल्टिच्यूड एयरका मिङ्मा शेर्पा र एयर डाइनाष्टीका बालकृष्ण पण्डितलाई सम्पर्क व्यक्ति तोकेको छ।

जथाभावी हेलिकप्टर उडान गर्दा हुनसक्ने सम्भावित दुर्घटना तथा अन्य प्राविधिक समस्यालाई मध्यनजर गर्दै उद्धारमा संलग्न हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ