९ जिल्लाको सिडिओ चलाएका सुरेन्द्र पौडेल कसरी चुके सिराहामा?
काठमाडौं। गृह मन्त्रालयले ९ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) चलाएका सुरेन्द्र पौडेललाई सिराहाबाट तानेको छ। सिराहाको गोलबजार गोली काण्डका कारण पौडेललाई गृह मन्त्रालय तानिएको छ। गृहले सिराहामा अर्को सिडिओ पठाइसकेको छैन।
गृह मन्त्रालयको अतिरिक्तमा रहेका तत्कालीन सहसचिव पुष्पराज शाही नेतृत्वको सिराहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले सिडिओ पौडेलसहितलाई कारबाही गर्न सिफारिस गरेको बताइन्छ। समितिले विभागीय कारबाही गर्न सिफारिस गरिएको भनिएता पनि उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन। उक्त प्रतिवेदन कार्यान्वयन गर्न भन्दै गृहले पौडेललाई सिराहाको सिडिओबाट मन्त्रालय तानेको हो।
गोलबजारमा तनाव उत्पन्न भएपछि गत साउन १४ गते प्रहरीको गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। उक्त घटनाको विषयमा छानबिन गर्न गठित समितिले सिडिओलाई समेत कारबाही गर्न सिफारिस गरेको हो। समितिका संयोजक शाही भने आफैमा विवादित पात्र हुन्।
गृहले घटनाको डेढ महिनापछि पौडेल लाई गृह मन्त्रालय तानेको हो। गत कार्तिकमा सिराहाको सिडिओ भएका पौडेल करिब ११ महिना उक्त जिल्लामा बसेर गृह मन्त्रालय तानिएका छन्। बर्दियाबाट सिराहाको सिडिओमा सरूवा भएर आएको ११ महिनामा उनी गृह मन्त्रालय तानिएका हुन्। ५ महिना बर्दिया बसेर सिराहा पुगेका पौडेलसँग चितवन, सप्तरी, सर्लाही, बारा, नुवाकोट, गोरखा, अर्घाखाँचीलगायतका जिल्लामा पनि सिडिओ चलाएको अनुभव छ। उनी मधेश प्रदेश बसेर गृह भित्रिएका थिए। तर, पौडेललाई गृहको जागिर महँगो पर्न गएको देखिन्छ। ९ जिल्लाको सिडिओ चलाएको अनुभव भएका पौडेल गोलबजार गोलीकाण्डमा चुक हुँदा मन्त्रालय तानिएका हुन्।
सिराहाको गोलबजार गोली काण्डको छानबिन गर्न गठित समितिले सिडिओ पौडेलसहित एसपी बासु पाठक, डीएसपी रमेश पाल र इलाका प्रहरी कार्यालय गोलबजारका तत्कालीन इन्स्पेक्टर सुदन केसीलगायतलाई कारबाही गर्न सिफारिस गरिएको बताइन्छ।
क्याटेगोरी : समाचारट्याग : #सुरेन्द्र पौडेल


तपाईको प्रतिक्रिया दिनुहोस