सञ्चार मन्त्रालयमा दरबन्दीभन्दा बढी सहसचिव


काठमाडौं। सूचना तथा सञ्चार मन्त्रालयमा दरबन्दीभन्दा बढी सहसचिव देखिएका छन्। नेपाल प्रशासन सेवाको ४ दरबन्दी रहेको सञ्चारमा ५ जना सहसचिव पुगेका हुन्। दरबन्दीभन्दा बढी सहसचिव भएपछि कोशी प्रदेशबाट सरूवा भएर आएका विष्णुप्रसाद कोइरालालाई कहाँ व्यवस्थापन गर्ने भन्ने विषय टुंगोमा पुगेको छैन।

सञ्चार मन्त्रालयमा दुईजना सहसचिवको दरबन्दी रहेको छ। उक्त दरबन्दीमा रविलाल शर्मा र उदयबहादुर राना मगर कार्यरत छन्। सूचना तथा प्रसारण विभागमा नेपाल प्रशासन सेवाको सहसचिवको दरबन्दी काटिएपछि फाजिलमा परेका छविन्द्र पराजुलीलाई तत्कालका मुद्रण विभागमा व्यवस्थापन गरिएको छ। हुलाक सेवा विभागको महानिर्देशकमा मनमाया पंगेनी भट्टराई रहेकी छिन्। योबाहेक सञ्चारमा नेपाल प्रशासन सेवाका सहसचिव दरबन्दी देखिँदैन। सहसचिव कोइरालालाई व्यवस्थापन गर्ने ठाउँ छैन।

सरकारले सञ्चार मन्त्रालयमा सहसचिव कोइरालालाई पठाएपछि सञ्चारबाट कसैलाई झिकेको छैन। हुलाककी डिजी मनमाया पंगेनी भट्टराई दुई वर्ष बढीदेखि एउटै कुर्सीमा छिन्। सहसचिव राना पनि मन्त्रालय छाड्ने मनस्थितिमा रहेको बुझिन्छ। अन्य सहसचिव पनि फड्को मार्न खोजिरहेको चर्चा सुनिन्छ। सञ्चारमा दरबन्दीभन्दा बढी सहसचिव हुने भएपछि कोइरालाले ठाउँ नपाएका हुन्।

सहसचिव मात्र होइन सञ्चार मन्त्रालयमा शाखा अधिकृत पनि दरबन्दीभन्दा दोब्बर पठाएको पाइन्छ। नायब सुब्बा र खरिदार पनि दरबन्दीभन्दा बढी पठाउँदा व्यवस्थापनमा समस्या भएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ