गुठी संस्थान विद्वत् समितिको सभापतिमा अधिकारी, सञ्चालक समितिमा ३ सदस्य मनोनित


काठमाडौं। गुठी संस्थानको विद्वत् समितिमा सञ्जय अधिकारी मनोनित भएका छन्। यसअघि गोविन्द टण्डन विद्वत् समितिको सभापति हुँदा सदस्य रहेका अधिकारी यसपटक सभापति बनेका हुन्। टण्डन भने गुठी संस्थान सञ्चालक समितिको अध्यक्षको भूमिकामा पुगेका छन्।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले गुठी संस्थानको सञ्चालक समितिको सदस्यमा रवि शाक्य, गिता शिख्रकार र दिनेश यादवलाई मनोनित गरेकी छिन्। मूर्तिकार समेत रहेका ललितपुरका शाक्य गुठी अभियान्ता समेत हुन्। गुठी संस्थानको बजेट आउन नसकेको बेला सञ्चालक समितिले पूर्णता पाएको हो।

गुठी संस्थानमा सञ्चालक समिति जस्तो भूमिका नरहे पनि विद्वत् समितिको सल्लाह महत्त्वपूर्ण मानिन्छ। उक्त समितिको सभापतिमा सञ्जय अधिकारी, दिनेश खरेल, थाइन्द्र बहादुर लिम्बु आङ्बुहाङ, सरोज थपलिया र देवकी न्यौपाने मनोनित भएका छन्। अधिकारी विदेशमा रहेकाले कार्यभार सम्हाल्न पुगेका छैनन्।

गुठी संस्थानको प्रशासकमा शैलेशराज कुँवर नियुक्त भइसकेका छन्। दोहोऱ्याएर प्रशासक बनेका कुँवरले गुठीलाई निकै चलायमान र सुधार गर्न सक्रियता देखाएको गुठीका अधिकारीहरू बताउँछन्। गुठी संस्थानको सञ्चालक समिति र विद्वत् समिति दुबैले पूर्णता पाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ